Logo

पाँच महिनामा मन्थली नगरको पूँजीगत खर्च २ प्रतिशत



रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनामा कुल बजेटको १८ प्रतिशत मात्र खर्च गरेको तथ्य सार्वजनिक भएको छ । शुक्रबार मन्थली नगरपालिका–२ स्थित वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बजेट कार्यान्वयन र राजस्व सङ्कलनको प्रगति विवरण सार्वजनिक गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाका अनुसार चालु आर्थिक वर्षका लागि मन्थली नगरपालिकाले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । मङ्सिर मसान्तसम्म आइपुग्दा चालु खर्च २६ प्रतिशत, पुँजीगत खर्च करिब २ प्रतिशत र समग्रमा कुल बजेट खर्च १८ प्रतिशत रहेको छ । नगरपालिकाले चालु तर्फ ७२ करोड १० लाख ७७ हजार रुपैयाँ र पुँजीगत तर्फ ३२ करोड ५४ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पुँजीगत खर्च अत्यन्त न्यून रहँदा विकास निर्माणका योजना अपेक्षित गतिमा अघि बढ्न नसकेको देखिएको छ । यद्यपि बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन SuTRA, CGAS, Online Vouching  र PAMS जस्ता अनलाइन प्रणाली लागू गरिएको सापकोटाले जानकारी दिए । ती प्रणालीमार्फत भुक्तानी प्रक्रिया छरितो बनेको, जिन्सी व्यवस्थापन सहज भएको र वित्तीय अनुशासन मजबुत बन्दै गएको उनको भनाइ छ ।

प्रस्तुत प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा आन्तरिक राजस्व सङ्कलनतर्फ भने नगरपालिकाले तुलनात्मक रूपमा राम्रो प्रगति गरेको छ । चालु आ.व.मा ४ करोड २३ लाख ५५ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म १ करोड ५६ लाख रुपैयाँ सङ्कलन भइसकेको छ, जुन लक्ष्यको ३७.०६ प्रतिशत हो ।

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सबै वडा कार्यालयबाट भूमि करलगायत विभिन्न शीर्षकको राजस्व अनलाइन प्रणालीमार्फत सङ्कलन सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ । नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा फाइबर इन्टरनेट जडान गरी एकीकृत सूचना प्रवाह प्रणालीलाई निरन्तरता दिइएको पनि जानकारी दिइएको छ ।

सामाजिक क्षेत्रका उपलब्धिबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मन्थली नगरपालिका रामेछाप जिल्लाकै पहिलो, बागमती प्रदेशको ११ औँ र देशभरको २७ औँ बालमैत्री स्थानीय शासनयुक्त नगरका रूपमा घोषणा भइसकेको स्मरण गराए । बालमैत्री नगरको दिगोपनाका लागि आवश्यक कार्यक्रम तथा क्रियाकलापहरू निरन्तर सञ्चालन भइरहेको उनले बताए । पाँच महिनाको अवधिमा ८४ जनालाई अपाङ्गता परिचयपत्र र २० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी मानव बेचबिखन विरुद्धको दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रभातफेरी, अन्तरक्रिया कार्यक्रम, विद्यार्थीबिच चित्रकला प्रतियोगिता तथा २१ जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको पनि जानकारी दिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवालाहरूले विकास बजेटको खर्च दर बढाउन, योजनाको कार्यान्वयनलाई तीव्र बनाउन र सेवा प्रवाह अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए । सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ नगरप्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा तथा सम्बन्धित वडा अध्यक्षहरूले दिएका थिए । कार्यक्रमको सहजीकरण प्रहार मिडिया प्रा.लि.ले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्