
काठमाडौँ- प्रगतिशील लेखक सङ्घ नेपालको १३ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा देवी दुलाल (क्षेत्री) र महासचिवमा पारस ढकाल चयन भएका छन् । चैत्र २३ र २४ गते काठमाडौँमा भएको प्रलेसको २३ औँ राष्ट्रिय सम्मेलन ९१ सदस्य केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ ।
केन्द्रीय समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा समिर सिंह र डा. अमृता शर्मा, उपमहासचिव बोधकुमार घिमिरे, सचिव डा. हरि तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा कृष्ण सुवेदी चयन भएका छन् । राष्ट्रिय सम्मेलनले पदाधिकारी तथा सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन गरेको नवनिर्वाचित महासचिव पारस ढकालले जानकारी दिए ।
प्रलेसको राष्ट्रिय सम्मेलनले ४५ जना केन्द्रीय सदस्य र ४६ जना राष्ट्रिय परिषद सदस्य गरी ९१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो । दुई दिनसम्म चलेको राष्ट्रिय सम्मेलनमा जिल्ला तथा प्रदेश समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रगतिशील लेखक सङ्घ वामपन्थी लेखकहरुको साँझा संस्था हो ।