काठमाडौँ- सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध राजधानीमा उत्रिएका ‘जेन–जी’ प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोलीबाट कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा ३४५ भन्दा बढी घाइते भएका छन् । मुख्यतया नयाँ बानेश्वर क्षेत्रमा केन्द्रीत प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहरा र प्रत्यक्ष गोली प्रयोग गरेको थियो । गोली लागेर विभिन्न अस्पतालमा पुगेकाहरूको उपचारक्रममै मृतकको सङ्ख्या बढ्दै गएको हो ।
अस्पतालमा बढ्दो मृत्यु
एभरेस्ट अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु, ५० भन्दा बढी घाइतेमध्ये ४ गम्भीर अवस्थामा रहेका छन् । ट्रमा सेन्टरमा ६ जनाको मृत्यु, १० गम्भीर घाइते छन् । सिभिल अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ । केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचारत १/१ जनाको मृत्यु भएको छ । डा. दीपेन्द्र पाण्डेका अनुसार, धेरै घाइतेहरूको टाउको र छातीमा गोली लागेको छ, जसका कारण अवस्थालाई गम्भीर मानिएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतबिन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध देशैभर ‘जेन–जी’ आन्दोलन तीव्र बनेको छ । काठमाडौँसहति अन्य सहरमा निरन्तर प्रदर्शन भइरहेका छन् ।
