
रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले सामुदायिक तथा कवुलियती बनका पदाधिकारीहरुलाई बन डढेलो रोकथाम, नियन्त्रण र सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अनुशिक्षण अभियान सञ्चालन गरेको छ ।
मुल आयोजक मन्थली नगरपालिका रहेको उक्त कार्यक्रमका अन्य आयोजकहरुमा चिसापानी सव डिभीजन वन कार्यालय, सामुदायिक बन उपभोक्ता महासङ्घ र जिल्ला प्रहरी कार्यालय रामेछाप रहेको थियो ।
बन डढेलोका असर र प्रभावहरु बारे आम नागरिकलाई सचेतीकरण गरी बनमा डढेलो लाग्न नदिने, यदि कसैबाट बन डढेलो लगाएको पाइएमा कानुन बमोजिम कारबाही गर्न समुदायको भूमिकालाई सक्रिय बनाउने लगायतका विषयमा अनुशिक्षण गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।
त्यसैगरी सोही अभियान अन्तर्गत दैनिक रुपमा युवा युवतीहरु जोखिममा रहेर वैदेशिक रोजगारीमा जाने लहर बढदै गइरहेकाले वैदेशिक रोजगारीमा जादा सुरक्षित ब्यवस्थित र मर्यादित भएर मात्र जानका लागि आवश्यक प्रक्रिया र विधिहरुका बारेमा समेत नागरिकहरुलाई सुसूचीत गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका संयोजक दीपक केसीले जानकारी दिए ।
उक्त अनुशिक्षक कार्यक्रम दुई वटा वडाका सामुदायिक तथा कवुलियती बनका पदाधिकारी र सम्भव भएसम्मका नागरिकलाई एकठाउँमा भेला गएर सञ्चालन गरिएको थियो । मन्थली नगरपालिकाको १४ वटै वडाहरुलाई समेटेर ७ स्थानमा कार्यक्रम सञ्चालन भएको मन्थली नगरपालिकाले जनाएको छ ।
उक्त अनुशिक्षण कार्यक्रम मन्थली नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय, वडा नम्बर ४ को श्री सेतीदेवी माध्यमिक विद्यालय सालु, वडा नम्बर ६ सेलेघाट, वडा नम्बर ८ को वडा कार्यालय, वडा नम्बर ११ को श्री शारदा माध्यमिक विद्यालय गेलु, वडा नम्बर १३ को श्री कालीदेवी माध्यमिक विद्यालय फुलासी र वडा नम्बर १ को श्री मन्थली माध्यमिक विद्यालयमा सञ्चालन गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका संयोजक केसीले जानकारी दिए । ७ स्थानमा सञ्चालन गरिएको अनुशिक्षण कार्यक्रममा जम्मा ४ सय ५३ जना सहभागि भएको र त्यसमध्ये २ सय ७० जना पुरुष तथा १ स ८३ जना महिलाहरु सहभागि भएको केसीले जानकारी दिए ।
उक्त कार्यक्रममा सामुदायिक वन तथा कवुलियती वनका पदाधिकारी तथा सम्भव भएसम्मका स्थानीयलाई समेत सहभागि गराएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक विश्वनाथ यादवले बताए । अनुशिक्षण कार्यक्रम मार्फत वन डढेलो लाग्नुका कारण, बन डढेलो रोकथान तथा नियन्त्रणमा समुदायको भूमिका र बन बढेलो लगाउने व्यक्तिलाई हुने कानुनी कारबाही लगायतका बारेमा सुसूचीत गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरीको तर्फबाट जिल्लाव्यापी रुपमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक यादवले बताए ।
बन डढेलो कसरी रोकथाम गर्ने, हावाहुरी, चट्याङ् लगायत विपद्का घटनाबाट कसरी सुरक्षित रहने भन्ने विषयमा वडा तहमै पुगेर नागरिकलाई सुसूचीत गर्ने उद्देश्यले उक्त अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए । नगरपालिकाको १४ वटै वडाका नागरिकसम्म सचेतना फैलाउने उद्देश्यले दुई वटा टिम परिचालन गरी उक्त अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको पनि नगरप्रमुख श्रेष्ठले बताए ।