सन्तोष ढुङ्गेल
काठमाडौँ – खाँडादेवी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष नारायण कार्कीले भ्रष्टाचार र कुशासनको विरुद्ध आफ्नो अभियान रहेको बताएका छन् । पछिल्लो समय चरम आर्थिक अनियमितता र भ्रष्टाचारले जरो गाडेको भन्दै आम नागरिक सचेत भएर यसको जरो उखेल्नु पर्ने बताए ।
शनिवार काठमाडौँमा सरस्वती युवा क्लब माकदुम रामेछाप र सम्पर्क समितिले आयोजना गरेको नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष कार्कीले खाँडादेवी गाउँपालिकामा आफूले सधैं सु–शासन र पारदर्शिताको पक्षमा आवज उठाउँदै आएको र आम नागरिकको हितमा काम गरिरहेको बताए ।

पालिकामा शिक्षा सुधारका लागि पालिका अध्यक्षलाई बजेट विनियोजन गरेर एसईई दिएका विद्यार्थीलाई गाउँमै रोकेर गुणस्तरीय शिक्षा दिउँभन्दा पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बेवास्ता गरेको कार्कीको भनाइ छ ।
00200
उनले भने – “पालिकाको केही बजेट शिक्षा क्षेत्रमा लगानी गरौँ र बाहिर पढ्न जाने विद्यार्थी रोकौँ म तपाईंको झोला बोक्छुभन्दा पालिका अध्यक्ष श्रेष्ठले कुनै चासो दिनु भएन ।” सरस्वती युवा क्लब माकदुम रामेछाप–काठमाडौं सम्पर्क समिति अध्यक्ष सन्तोष खत्रीको अध्यक्षतामा ललितपुरको इमाडोलस्थित स्टार फूड ल्यान्ड तथा बैङ्केट्मा आयोजना गरिएको कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा सम्पर्क समितिका पदाधिकारी, सदस्यहरू साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्तिथि रहेको थियो ।
