रामेछाप- मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीका महिलाहरुले सामूहिक होमस्टे सञ्चालनमा ल्याएका छन् । चिसापानीमा अहिले ३ वटा होमस्टे सञ्चालनमा रहेका छन् । चिसापानी महिला उद्यमी समूहमा आवद्ध महिलाहरुले होमस्टे सञ्चालन गरेका हुन् । चिसापानी महिला उद्यमी समूहमा ९ जना रहेका छन् भने सोही समूहमा आवद्ध महिलाहरु ३/३ जनाको समूहले छुट्टाछुट्टै होमस्टे सञ्चालन गरेका हुन् ।
चिसापानीका तीन वटा टोललाई समेटेर ३ वटा होमस्टे सञ्चालन गरिएको हो । टोलकै नामबाट होमस्टेको नाम राखिएको छ । धारापानी टोलमा धारपानी होमस्टे समूह, रिष्टे टोलमा रिष्टे होमस्टे समूह र भिमसेन टोलमा भिमसेन होमस्टे समूहले सामूहिक होमस्टे सञ्चालनमा ल्याएको हो । गाउँमा कार्यक्रम पर्दा खाना खाजाको अर्डर आउने गरेको छ । अर्डरअनुसार खाना खाजा खुवाउने गरिएको भिमसेन होमस्टे समूहकी शान्ता श्रेष्ठले बताइन् । उनले भनिन् गाउँमा कार्यक्रम पर्दा खाना खाजाको अर्डर आउँदा हामीले मिलेर खुवाउने गरेका छौँ । रिष्टे साइटमा कार्यक्रम पर्यो भने त्यहीको होमस्टेले खुवाउँछ, धारापानी साइटमा कार्यक्रम पर्यो भने त्यहीका होमस्टेले खुवाउँछ र भिमसेन टोलमा कार्यक्रम पर्यो भने हामीले खुवाउने गरेका छौँ ।
ठुलो कार्यक्रम पर्यो र धेरै मानिसलाई खाना खाजा खुवाउनु पर्यो भने तीन वटै होमस्टेले सल्लाह गरेर बाँडेर खुवाउने गरेछौँ उनले भनिन् । हामीले होमस्टे सञ्चालन गरेको धेरै भएको छैन्, अझै राम्रो व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ र व्यवस्थापन गर्दैछौँ सोही समूहकी ममता श्रेष्ठले भनिन् होमस्टेलाई व्यवस्थित बनाउने प्रयास गरिरहेका छौँ । भिमसेन होमस्टे समूहमा शान्ता श्रेष्ठ, ममता श्रेष्ठ र शोभा श्रेष्ठ तीन जना छन् । उनीहरु तीन जनाले होमस्टेमा मिलेर काम गर्ने गरेका छन् ।

उक्त होमस्टेमा त्यही गाउँमा उत्पादन भएका स्थानीय खानेकुराहरु खुवाउने गरिएको समूहकी अर्की सदस्य शोभा श्रेष्ठले बताइन् । उनीहरुकाअनुसार अर्डर अनुसारका खानेकुरा खुवाउने गरिएको छ । विशेषगरी मकैको च्याख्ला, कोदोको ढिडो, सिस्नु र लोकल भालेको अर्डर आउने गरेको शान्ताकुमारी श्रेष्ठले बताइन् । त्यहाँबाट नजिकै रहेको प्रसिद्ध भिमसेन मन्दिरमा दर्शन गर्न आउने र चिसापानी गढीको भ्रमणमा आएका मानिसहरु पनि खाना खानको लागि होमस्टेमा आउने गरेका छन् । शान्ता श्रेष्ठले भनिन् अस्ति भर्खरै भक्तपुरबाट पनि एउटा टोली आएको थियो । वस्नलाई शान्त वातावरण र सितल ठाउँ भएकाले गर्मीको समयमा खानपिनका लागि विषेशगरी मन्थलीबाट आउने गरेको उनीहरुको भनाइ छ । होमस्टेमा सबै खानेकुरा स्थानीय खुवाइँने हुँदा सामान जुटाउन समय लाग्ने भएकाले के खाने हो पहिले नै अर्डर गर्नुपर्ने हुन्छ । अर्डरअनुसार सामान जुटाएर पकाउने गरिएको शोभा श्रेष्ठले बताइन् । उनले भनिन् यहाँ आउनुभन्दा पहिले नै समय राखेर अर्डर गर्नुभयो भने हामी स्थानीय खानेकुरा जुनसुकै खानेकुरा पनि तयार गर्न सक्छौँ ।
अहिलेको अवस्थामा वास बस्ने मानिस आएमा एउटा होमस्टेमा ३ जनालाई वास दिन सकिने शान्ता श्रेष्ठले बताइन् । उनले भनिन् अहिले हामीसँग एउटा रुम छ, त्यसमा एउटा सिङ्गल र एउटा डबल बेड छ, तीन जनासम्म वास वस्न सक्छन् । तीन वटा होमस्टेमा गरी ९ जनालाई राख्न सकिन्छ । यदि ९ जनाभन्दा बढी मानिसलाई बास राख्नु पर्नेभयो भने घरमा पनि मिलाएर राख्ने गरेका छौँ । होमस्टे सञ्चालन गर्नु अघि उनीहरुलाई सामुदायिक विकास समाजले होमस्टे सञ्चालन सम्बन्धी तालिम दिएको थियो । तालिममा सहभागि भएका २२ जना मध्ये ९ जनाले होमस्टे सञ्चालन गरेका हुन् । होमस्टे सञ्चालन गर्न सामुदायिक विकास समाजले प्रतिब्यक्ति ६ वटा थाल, ६ वटा कचौरा, दुई वटा कुकर, २ वटा बेड लगायत भान्साको एकसरो सामान सहयोग गरेको थियो । त्यसमा समूहका तीन जनाले प्रतिब्यक्ति १० हजार रुपैयाँका दरले रकम सङ्कलन गरेर थप व्यवस्थापन गरिएको ममता श्रेष्ठले बताइन् ।
