Logo

मन्दिर जाने सडक सहज बनाउँदै खाँडादेवी विकास कोष



सन्तोष ढुङ्गेल


रामेछाप- जिल्लाकै प्रसिद्ध ऐतिहासिक एवम् पुरातात्विक शक्तिपीठ खाँडादेवी मन्दिरमा भक्तजनको आवतजावतलाई मध्यनजर गर्दै खाँडादेवी विकास कोषले मन्दिर जाने बाटो मर्मत गरेको छ । रायागाउँ हुँदै हिलेचौर जाने बाटो वर्षाको कारण खाल्डाखुल्डी परेको र गेगरले गर्दा साना सवारी साधनलाई मन्दिरसम्म पुग्न असहज भएपछि विकास कोषले भक्तजनहरुको सहजताको लागि सडक मर्मत गरेको हो ।

मन्दिर जाने सडकलाई कालोपत्रको लागि बजेट बिनियोजन भएको भएपनि विभिन्न कारण देखाउँदै काम सुरु भएको छैन । कुनैपनि निकायले चासो नदेखाएपछि कोष आफै सडक मर्मतमा जुटेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामङले जानकारी दिए । तामाङ भन्छन् – “आफैँले घरबाट खाना र खाजा खुवाएर दैनिकी हाजिरमा मान्छे लगाएर काम गरिरहेको छु । स्थानीय सरकारदेखि कुनै निकायले चासो नदिएको देख्दा अचम्म लाग्छ ।”


पछिल्लो समय कोषले मन्दिर परिसरमा विभिन्न प्रजातीका फुलका बिरुवा लगाएर मन्दिरलाई चिटिक्क परेको छ भने भक्तजनको पनि घुइँचो लाग्ने गरेको अध्यक्ष तामाङले बताए ।
जिल्ला भित्र र बाहिरबाट साना सवारी साधन लिएर आउने भक्तजनको गुनासो आएपछि सडकलाई मर्मत गरिएको अध्यक्ष तामाङको भनाइ छ ।

खाँडादेवीमा दर्शन गर्न अहिले जिल्ला सदरमुकाम मन्थली र काठमाडौँबाट सित्खा पुल तरेर सोझै मन्दिरसम्म यातायात साधनबाट नै जान सकिन्छ । मन्थली वा काठमाडौँ आउँदा मन्दिरको मुनि माकादुमसम्म पिच सडक नै छ । मुख्य सडक छाडेर मन्दिर उक्लिने बाटो भने केही अप्ठेरो छ । सो सडक पनि पिच वा ढलान गर्नुपर्ने दर्शनार्थीहरुको माग रहेको छ ।

अहिले मन्दिरमा दर्शन गर्न देशभरिका साथै भारतबाटसमेत दर्शनार्थीहरु आउने गरेका छन् । यसले यस मन्दिरको महत्व थप बढेको छ । मन्दिरमा दर्शन गर्न दैनिक गाडी रिजर्भ गरेर मानिसहरू आउने गर्दछन् । खाँडादेवी मन्दिर रामेछाप जिल्लाको मात्र नभएर नेपालकै एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्