Logo

माओवादी सशस्त्र द्वन्द्वले नेपाली राजनीतिमा गहिरो प्रभाव पारेको छ : कार्की



रामेछाप– नेपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जनयुद्ध दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी पक्षले “जनयुद्ध” भनेको आन्दोलनलाई आफूहरूले त्यसबेला “सशस्त्र द्वन्द्व”का रूपमा लिएको स्मरण गरे । तर नाम जे भए पनि त्यसले नेपाली राजनीतिमा गहिरो प्रभाव पारेको कुरा सबै दल र समाजले स्वीकार गरेको उनको भनाइ थियो ।

उनले शान्तिपूर्ण जनआन्दोलन र सबै राजनीतिक दलको एकताबद्ध पहलबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सम्भव भएको उल्लेख गरे । “राजतन्त्रको समाप्ति र गणतन्त्रको उदय सबै नेपालीहरूको साझा जित हो,” उनले भने, “त्यो दिनलाई हामीले गौरवका साथ सम्झनुपर्छ ।”

कार्कीले कम्युनिष्ट आन्दोलनभित्रको विभाजन र पुनःएकताको प्रक्रियालाई स्वाभाविक राजनीतिक घटनाक्रमका रूपमा चित्रित गर्दै जनयुद्धसँग सम्बन्धित विभिन्न नेताहरू अहिले फरक–फरक दलमा रहेको उल्लेख गरे । “नेपाली कम्युनिष्ट आन्दोलनमा जुट्ने, फुट्ने, पुनःएकता हुने प्रक्रियाहरू चलिरहेकै छन्,” उनले भने, “त्यो एउटा स्वभाविक राजनीतिक प्रक्रिया हो ।”

उनले जनयुद्धका उपलब्धिहरूको चर्चा गर्दा द्वन्द्वबाट प्रभावित घाइते, अपाङ्ग, सहिद परिवार तथा बेपत्ता परिवारको यथोचित सम्बोधन अझै हुन नसकेको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । “दुवै पक्षका पीडितहरूको सम्मान र समस्याको समाधानका लागि सबै दलले एकताबद्ध पहल गर्नुपर्छ,” उनले भने ।

कार्यक्रममा उनले आगामी निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाको अवसरका रूपमा लिनुपर्ने धारणा राखे । “हामी सबै दल आफ्ना एजेन्डा लिएर जनतामाझ जाँदैछौँ । जनताले जसलाई बहुमत दिन्छन्, उसैले सरकारको नेतृत्व गर्ने हो,” उनले भने ।
नयाँ र पुराना दलको बहसतर्फ सङ्केत गर्दै कार्कीले राजनीतिक दलहरू सिद्धान्त, दर्शन र नीतिका आधारमा चल्नुपर्ने धारणा व्यक्त गरे । “दलहरू आफैँमा पुराना हुँदैनन्, उनीहरूको नीति र एजेन्डा महत्वपूर्ण हुन्छ,” उनले भने, “लहर, भ्रम वा व्यक्तिकेन्द्रित प्रचारले देश चल्दैन ।”

उनले राजनीतिक प्रतिस्पर्धा मर्यादित र स्वस्थ रहनुपर्नेमा जोड दिँदै सबै दललाई सिद्धान्तनिष्ठ भएर राष्ट्रलाई सही दिशामा अघि बढाउन आह्वान गरे । उनले नेपाली कम्युनिष्ट पार्टीले द्वन्द्वबाट प्रभावित समुदायप्रति आफ्नो दायित्व नबिर्सोस् भन्ने अपेक्षा पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्