सन्तोष ढुङ्गेल
रामेछाप– जिल्लाको रामेछाप नगरपालिकाले पालिकाभित्र रहेका ९ वटै वडाका मेलमिलापकर्ता र संयोजकलाई अभिमुखिकरण तालिम दिएको छ । स्थानीय सरकार गठन भए पश्चात बिभिन्न अधिकार स्थानीय सरकारमा प्रत्यायोजन भएको थियो । सोही अनुरुप रामेछाप नगरपालिकाको न्यायिक समितिले बिभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।
पालिकाको न्यायिक समितिले वार्षिक रुपमा जिल्ला अदालतका न्यायाधीशलाई समेत उपस्थित गराएर मेलमिलापकर्तालाई कानुन र कानुनी कुरामा अभ्यस्त गराउँदै आएको छ ।
पालिका भित्रका ९ वटै वडाका मेलमिलापकर्ताले निवेदन दर्ता र मिलापत्रको फाइल कसरी तयार गर्ने भन्ने बारेमा रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लेकहरि दाहालले सहभागीलाई प्रयोगात्मक सीपसमेत सिकाएका थिए । एक कुशल अधिवक्ता समेत रहेका दाहलले सहभागीलाई कुनै कुरामा पनि नअलमिकन काम गर्नसमेत सुझाव दिएका छन् ।

मेलमिलापकर्ता भनेको स्वतन्त्र ब्यक्ति भएकाले समाजका आफ्नो अधिकार प्रयोग गर्दा निष्पक्ष भएर गर्नु पर्ने रामेछाप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले बताए । कुनै आग्रह र पुर्वाग्रहबाट माथि उठेर मुद्दामा छलफल गर्नसमेत चापागाईंले आग्रह गरेका छन् ।
न्यायिक समिति संयोजक एवम् रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा कार्कीले मेलमिलापकर्ताले समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दै धन्यवादसमेत दिएकी छन् । संयोजक कार्कीले भनिन् –“दुबै पक्षलाई मिलाएर र समाजमा सँगै मिलेर बस्ने वातावरण मेलमिलापकर्ताले गरेको हुँदा समाजको सम्मानित व्यक्ति तपाईंहरू हो ।”
नगरप्रमूख लबश्री न्यौपानेले समाजमा मानिसले पढेर र परेर ब्यवहारिक कुरा सिक्ने र त्यसलाई प्रयोगमा ल्याएको हुँदा मेलमिलापकर्तामा त्यो क्षमता रहेको धारणा व्यक्त गरे । मेलमिलापकर्ता नगरपालिकाका वडागत वकिल भएका हुँदा स्थानीय स्तरका समस्या स्थानीय स्तरमै समाधान खोज्नसमेत आग्रह गरेका छन् ।
जिल्ला न्यायाधीश राजेन्द्र नेपाल र श्रेष्तेदार सुरेश केसीले मेलमिलापकर्ताले उठाएका समस्यालाई समाधान गर्दै कानुन र कानुनी कुराको बारेमा स्पष्ट पारेका थिए । दुई दिनको तालिम पश्चात् सहभागीले धेरै कुरा सिकेको र व्यवहारमा समेत लागू गर्ने बताउँदै न्यायिक समितिलाई धन्यवाद दिएका थिए ।
