Logo

यसवर्ष मन्थलीको न्यायिक समितिले गर्यो २० उजुरी फछ्र्योट



रामेछाप- रामेछापको मन्थली नगरपालिका न्यायिक समितिले चालु आर्थिक वर्षमा २० वटा उजुरीहरुको फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा उक्त उजुरीहरु फछ्र्योट गरेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैत्र २० गतेसम्म २८ वटा उजुरी न्यायिक समितिमा दर्ता भएको न्यायिक समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको २८ वटा र गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएको १३ वटा गरी ४१ वटा उजरी मध्ये २० वटा विवाद फछ्र्याेट भएको नगरपालिका कानुन अधिकृत सुदर्शन रायले जानकारी दिए ।
उजुरी सुनुवाइका लागि इजालसको व्यवस्था लगायत न्याय सम्पादनको कामलाई अझै प्रभावकारी बनाउन न्यायिक समिति लागिपरेको उनको भनाइ छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ३१ वटा विवादहरू न्यायिक समितिमा दर्ता भएको र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ वटा सहित ४० वटा विवादमा ३१ वटा विवाद फछ्र्योट भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ४२ वटा विवाद दर्ता भएको र अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६ वटासहित ४८ वटा विवादमा ३९ वटा विवाद फछ्र्योट भएको थियो । वडा स्तरमा हुने विवादहरूको मेलमिलापका माध्यमबाट समाधानका लागि नगरका १४ वटै वडामा मेलमिलाप केन्द्र र दक्ष मेलमिलाप कर्ताहरू क्रियाशील रहेको पनि उनले बताए ।

संविधानले दिएको अधिकार प्रयोग गरेर आफ्नो कामलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार मन्थली नगरपालिकाले हालसम्म ९२ वटा ऐन, कानुन, कार्यविधि र निर्देशीकाहरु बनाएर कार्यान्वय गरिरहेको पनि कानुन अधिकृत रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्