Logo

राजनीतिक दलहरुले जिम्मेवार र प्रतिबद्ध बन्नु आवश्यक छ : ढुङ्गेल



रामेछाप–पत्रकार हिमालय ढुङ्गेलले जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै द्वन्द्वकालीन स्मृतिहरूलाई सम्झँदै वर्तमान राजनीतिक शक्तिहरूलाई जिम्मेवार र प्रतिबद्ध बन्न आग्रह गरेका छन् । उनले ३१ वर्षअघिको समय स्मरण गर्दै भने, “समय धेरै बितिसकेको छ, तर ती दिनहरू अझै पनि मानसपटलमा ताजा छन् । पत्रकारितामा सक्रिय रहँदा भोगेका अनेकौं कठिन र कहालीलाग्दा अनुभवहरू अझै बिर्सन सकिएको छैन ।”

ढुङ्गेलले द्वन्द्वकालमा मन्थलीबाट गाउँ जाँदा सेनाको अनुमति लिनुपर्ने अवस्था, दिउँसै कर्फ्यु लाग्ने दिनहरू, रिपोर्टिङका क्रममा सेना, प्रहरी तथा अनुसन्धान निकायको निगरानीमा बस्नुपरेका क्षणहरू स्मरण गरे । उनले माओवादी पक्षबाट धम्की र राज्य पक्षबाट पक्राउको जोखिमसमेत व्यहोरेको अनुभव सुनाउँदै पत्रकारहरू राज्य र विद्रोहीबिच “पुल”को भूमिकामा रहेको उल्लेख गरे ।

उनले भने शान्ति प्रक्रिया देशमा नआएको भए आजको अवस्था सम्भव हुने थिएन । “कुनै न कुनै रूपमा हामी सबै पीडित थियौँ । शान्ति प्रक्रियाले देशलाई नयाँ मोडमा ल्यायो,” उनले भने ।
ढुङ्गेलले सहभोज जस्ता सामाजिक अभियानहरू सुरुआती चरणमा सहयोग अभावका कारण कठिन बने पनि विद्रोह उत्कर्षमा पुगेपछि समाज क्रमशः रूपान्तरणतर्फ अघि बढेको उल्लेख गरे । उनले द्वन्द्वकालमा आत्मसमर्पण गर्ने व्यक्तिहरूको जिम्मा लिने, प्रशासन र मानवअधिकारकर्मीसँग सहकार्य गर्ने लगायतका कार्यमा आफूहरुको सक्रिय भूमिका रहेको बताए ।

दोरम्बा घटनापछि समाचार लेखेकै कारण आफूहरूलाई धम्की र पक्राउको सामना गर्नुपरेको प्रसंग उल्लेख गर्दै उनले भने, “त्यतिखेर सूचना प्रवाहको पहुँच सीमित थियो । रेडियो नेपाल र केन्द्रीय टेलिभिजनबाहेक अन्य माध्यम थिएनन् । तर सीमित स्रोतका बाबजुद पत्रकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरे ।”

हालको राजनीतिक परिवेशबारे टिप्पणी गर्दै उनले तत्कालीन नेकपा (माओवादी) आज एक दरिलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको बताए । तथापि, उनले घोषणापत्र र सिद्धान्त जति आकर्षक भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे ।

“पूरा गर्न नसक्ने प्रतिबद्धता नगर्नुस् । जे प्रतिबद्धता गर्नुभएको छ, त्यो पूरा गर्नुस्,” उनले राजनीतिक दलहरूलाई आग्रह गर्दै भने, “नागरिकहरू कसले के गर्छ भनेर छटपटाइरहेका छन् । यो अनिश्चितताले देशलाई सही दिशामा लैजान सक्दैन ।”

उनले जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै राजनीतिक दलहरूलाई अझ जिम्मेवार र परिणाममुखी बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्