रामेछाप- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले रामेछापका उम्मेदवार माधव ढुङ्गेलले राजनीतिक स्थायित्व कायम गर्न एमालेको बहुमत सरकार आवश्यक रहेको बताएका छन् । उनले आगामी निर्वाचनलाई राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनका मुख्य मुद्दासँग जोडेर अघि बढाइएको बताए ।
ढुङ्गेलले निर्वाचनलाई देशको राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् । उनले पछिल्लो राजनीतिक घटनाक्रमले संविधान कार्यान्वयनको प्रक्रिया कमजोर भएको मूल्याङ्कन गर्दै संसद र संवैधानिक व्यवस्थालाई स्थिर ट्याकमा ल्याउनु आवश्यक रहेको बताए ।
उनले आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरे पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्दै विकासका दीर्घकालीन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने दाबी गरे । गठबन्धनको सरकार बन्दा नीति कार्यान्वयनमा समस्या आउने र दीर्घकालीन योजना प्रभावित हुने उनको भनाइ छ ।
उम्मेदवार ढुङ्गेलले सीमा विवाद समाधान, अन्तर्राष्ट्रिय प्रतिवेदन कार्यान्वयन तथा ऐतिहासिक भूभाग सम्बन्धी विषयलाई टुङ्गोमा पुर्याउन बहुमत सरकार आवश्यक रहेको बताए । आर्थिक विकासको सन्दर्भमा उनले पर्यटन, जलस्रोत, कृषि, वन, जडीबुटी र खनिज स्रोतलाई आधार बनाएर रोजगारी सिर्जना गर्ने योजना रहेको पनि बताए । आफू निर्वाचत भएमा रामेछापमा ऊर्जा उत्पादन वृद्धि गर्दै त्यसलाई औद्योगिक र आर्थिक विकाससँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ ।
सामाजिक सुरक्षा भत्ता नेकपा एमालेको एजेन्डा भएको बताउँदै सामाजिक सुरक्षालाई अझ व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । वृद्ध भत्ता, अपाङ्गता भत्ता, स्वास्थ्य बीमा, शिक्षा छात्रवृत्ति लगायतका कार्यक्रमलाई अझ विस्तार गर्ने योजना रहेको उनले बताए । साथै, राज्यले कमजोर वर्गको सुरक्षाको जिम्मेवारी लिनुपर्ने अवधारणालाई सुदृढ बनाउने पनि उनले बताए ।
सुशासन र पारदर्शिताको विषयमा उनले डिजिटल सेवा विस्तार, अनलाइन सरकारी सेवा, भ्रष्टाचार नियन्त्रण र अवसरमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको बताए । युवा पुस्ताको अपेक्षा अनुसार डिजिटल प्रशासन विकास गर्ने उनको भनाइ छ ।
शुनिवार नेकपा एमाले प्रचार डेस्क रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
निर्वाचन अभियान अन्तर्गत विभिन्न गाउँपालिका र बस्तीहरूमा घरदैलो कार्यक्रम गर्दै आएका ढुङ्गेलले पार्टीले बनाएको तालिका अनुसार अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनकाअनुसार अभियान गोकुलगंगा क्षेत्रबाट सुरु भई लिखु तामाकोसी, उमाकुण्ड, मन्थली हुँदै अहिले दोरम्बा शैलुङ क्षेत्रतर्फ अघि बढिरहेको छ ।
रामेछापको विकास सम्बन्धी योजनाबारे बोल्दै ढुङ्गेलले जिल्लाको भौगोलिक विविधतालाई आधार बनाएर विकास मोडल तयार गर्ने बताएका छन् । सुक्खा क्षेत्रमा लिफ्टिङ प्रणालीमार्फत सिँचाइ र खानेपानी व्यवस्थापन तथा गेडागुडी खेती विस्तार गर्ने योजना रहेको उनले बताए । रशिला क्षेत्रमा जडीबुटी उत्पादन र प्रशोधन केन्द्र स्थापना गर्ने सम्भावना रहेको उनको भनाइ थियो ।
फलफूल उत्पादन, विशेष गरी आलु, किवी, सुन्तला, अलैंची र एभोकाडो उत्पादनलाई व्यावसायिक बनाउने तथा सुपर जोन विकास गर्ने आफ्नो योजना रहेको उनले बताए । जलस्रोतको उपयोग गरी विद्युत उत्पादन वृद्धि गर्ने र त्यसको लाभ स्थानीय जनतालाई रोयल्टीमार्फत पुर्याई रामेछापका जनताको आर्थिक स्तरमा सुधार ल्याउन सकिने उनको भनाइ छ ।
सूचना प्रविधि क्षेत्रमा एआई डेटा सेन्टर स्थापना सम्भावना अध्ययन अध्ययन गर्ने बताउँदै रामेछापमा उक्त राख्न सकिने सम्भावना रहेको पनि उनले बताए ।
पर्यटन विकासमा उनले कृषि पर्यटन, धार्मिक पर्यटन र ऐतिहासिक पर्यटनलाई प्राथमिकता दिएका छन् । रणनीतिक सडक निर्माण, पर्यटन मार्ग विकास, रिसोर्ट तथा पर्यटन पूर्वाधार निर्माणमार्फत जिल्लालाई पर्यटन गन्तव्य बनाउने योजना रहेको उनले बताए ।
जनसंख्या घट्दो अवस्थाबारे उनले रोजगारी सिर्जना र आर्थिक अवसर बढाएर विदेश गएका युवालाई फर्काउने वातावरण बनाउ सकिने बताए । आर्थिक अवस्था बढेमा स्थानीय बसोबास बढ्ने उनको तर्क थियो ।
ढुङ्गेलले आफू पहिलो पटक उम्मेदवार भएको उल्लेख गर्दै जनताबाट परीक्षणको अवसर दिन आग्रह गरेका छन् । संसदमा पुगेपछि रामेछापको पहिचान स्थापित गर्ने र जिल्लाका मुद्दा राष्ट्रिय स्तरमा उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
