Logo

राजावादी आन्दोलनमा आगजनी, तोडफोड र मृत्युसम्म



  1. प्रहरीकाे गाेली लागि घाइते भएका ७ जनाको उपचार हुँदै
  2. राजावादीले आन्दोलन गरेका क्षेत्रमा आगजनी र तोडफोड
  3. आगजनी भएको घर नजिकै शव भेटियाे
  4. कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु
  5. राजावादीले प्रदर्शनका क्रममा गरेको आगजनीमा एक पत्रकारको जलेर मृत्यु
  6. जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी
  7. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीसमेत आगजनी

 

काठमाडौँ – राजवादीको आन्दोलनले काठमाडौँ अशान्त बनेको छ । राजावादीको अन्दोलनमा केही व्यक्तिले ज्यानसमेत गुमाएका छन् । राजावादीले आन्दोलन गरेका क्षेत्रमा आगजनी र तोडफोड समेत भएका छन् । काठमाडौँको तीनकुनेमा राजवादी समूहको प्रदर्शन स्थलमा एकजनाको शव समेत फेला परेको छ ।

शुक्रवार दिउँसो आगजनी भएको घर नजिकै शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले जानकारी दिए । उनले भने, पुरुषको शव भेटिएको छ, हामी पहिचान खुलाउने प्रयास गर्दै छौँ ।’ यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।


२९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।

त्यस्तै राजावादीले प्रदर्शनका क्रममा गरेको आगजनीमा एक पत्रकारको जलेर मृत्यु भएको छ । आगजनी गरेको काठमाडौँको तीनकुनेस्थित एक घरमा जलेर एक व्यक्तिको मृत्यु भएको भेटिएको हो । राजावादीहरूले प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित सो भवनमा आगो लगाएका थिए ।

सोही आगलागीमा परि जिउँदै जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत एक पत्रकारको मृत्यु भएको हो । उनी एभिन्यूज टेलिभिजनमा क्यामेरा म्यानका रुपमा कार्यरत थिए । नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरेका छन् । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो ।


यसैबिच पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी गरेका छन् । गृह मन्त्रालयका सहसचिव छवि रिजालले कम्पनीको कार्यालय परिसरमा ८ वटा सवारीमा आगजनी गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भने, ‘आज भएका सवै घटना खेदजनक छन् ।’

प्रदर्शनकारीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगजनी गरेका छन् । कानुन हातमा लिनेलाई नियन्त्रणमा लिएर कारबाही गरिने सहसचिव रिजालले जानकारी दिए । उनले भने, ‘यो घटनाबाट कोही आतङ्कित हुनुपर्दैन् ।’

राजावादीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी समेत जलाएका छन् । शुक्रवार संसदको कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरुले गाडी जलाएका हुन् । भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएको परियारले जानकारी दिए ।
उनले कफर््यु छली भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गर्दा आन्दोलनकारीहरुले गाडी रोकेर जलाएको बताए । परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।

यसैबिच राजावादीको आन्दोलनका क्रममा शुक्रबार तीनकुनेमा प्रहरीसँगको झडपमा परी घाइते भएका ७ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्राप्त जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा ५ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २ घाइतेको उपचार जारी छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जका प्राडा मोहनचन्द्र रेग्मीका अनुसार गोली लागेका ५ जना घाइतेको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनले ती सबैको कम्मर मुनिको भागमा गोली लागेको र अवस्था स्थिर रहेको बताए ।


राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार त्यहाँ पनि गोली लागेका दुई जना घाइतेको उपचार भइरहेको छ । तीमध्ये पेटमा गोली लागेका एक जनाको अवस्था भने चिन्ताजनक रहेको छ । उनको आकस्मिक शल्यक्रिया भइरहेको निर्देशक रिजालले बताए । ट्रमा रहेका अर्का एक जनाको भने कुममा गोली लागेको छ ।

प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो । प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।

काठमाडौँको तीनकुनेमा प्रहरीमाथि ढुंगामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रवारका लागि तय भएको राजावादीको सभा बिथोलिएको थियो । विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्