
रामेछाप- रामेछाप जिल्लाको गोकुलगङ्ग गाउँपालिका वडा नम्बर ६ हुँदै बग्ने लिखु तामाकोसी गाउँपालिका–६ स्थित छत्तिवनी खोलामा एक बेवारिसे लास फेला गरेको छ ।
छत्तिवनी खोलाको माथिल्लो छाँगामा पानीको सतहमा नामथर वतन नखुलेको रातो चोलो, निलोमा सेतो धर्का भएको गन्जी लगाएको मङ्गोलियन मुलकोजस्तो देखिने अन्दाजी ४५/५० वर्षीया महिलाको लास फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
प्रहरीकाअनुसार घोप्टो अवस्थामा फेला परेको उक्त लास सडीसकेको अवस्था छ । उक्त लासको जाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान पछि मन्थली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । मृतकको आफन्तको खोजतलास गर्दा हालसम्म कोही कसैबाट सनाखत हुन नसकेकाले सनाखतको लागि हुलिया परिपत्र गरी मृतकको आफन्तको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।