Logo

रामेछापमा तीन शिक्षक सङ्गठनको एकता भेला सम्पन्न



रामेछाप- रामेछाप जिल्लामा तीन शिक्षक सङ्गठनहरूबीच एकता भेला सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र अखिल नेपाल शिक्षक सङ्गठन (विद्रोही) लगायत अन्य घटक सङ्गठनहरूको सहभागितामा एकता भेला सम्पन्न भएको हो ।

शनिवार जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको भेलाले चक्रलाला श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । नवगठित समितिका सह–संयोजकमा बेदबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठ चयन भएका छन् ।

“सम्पूर्ण मुक्तिकामी शिक्षक/कर्मचारीहरू–एक होऔँ !” भन्ने नारासहित तीन शिक्षक सङ्गठनहरूको संयुक्त एकता भेला सम्पन्न भएको हो । “ट्रेड युनियन अधिकार, समाजवादी शिक्षा, बृहत शिक्षक–कर्मचारी एकता ! शिक्षा ऐन प्राप्ति र कार्यान्वयन, प्रविधियुक्त गुणस्तरीय शिक्षा–हाम्रो प्रतिबद्धता !!” भन्ने मूल नाराका साथ आयोजित उक्त भेलाले शिक्षक तथा कर्मचारीहरूबिच एकता, अधिकार र शैक्षिक रूपान्तरणको साझा अभियानलाई अघि बढाउने निर्णय गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथिमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य झम्क कँडेल रहेका थिए भने विशेष अतिथि नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पवन कार्की र बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ रहेका थिए । नेताहरूले नेपाल शिक्षक सङ्गठनले उठाएका एजेन्डा कार्यान्वयनका लागि पार्टीको तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । साथै, शिक्षकहरूलाई शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर सक्रिय भएर लागिरहन पनि नेताहरुले आग्रह गरेका छन् ।

भेलामा सहभागी शिक्षक नेताहरुले लामो समयदेखि शिक्षक तथा विद्यालय कर्मचारीका हकहितका सवालहरू ओझेलमा परेको उल्लेख गर्दै अब साझा मोर्चाबाट सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका थिए । शिक्षामा नीतिगत सुधार र संरचनागत रूपान्तरणमार्फत समाजवादी शिक्षा प्रणालीतर्फ उन्मुख गरिनुपर्ने शिक्षक नेताहरूको भनाइ रहेको छ ।

भेलाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ठोस कार्यनीति निर्माण गर्न राज्यलाई घचघचाउने निर्णय गरेको छ । विशेषगरी नयाँ शिक्षा ऐन यथाशीघ्र जारी गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई दबाब दिने रणनीति अवलम्बन गरिने जनाइएको छ । शिक्षकहरूको पेशागत सुरक्षा, सेवा–सुविधा, स्थायित्व र ट्रेड युनियन अधिकार सुनिश्चित नगरी गुणस्तरीय शिक्षा सम्भव नहुने उनीहरूको भनाइ छ ।

कार्यक्रममा प्रविधिमैत्री तथा समावेशी शिक्षा प्रणाली विकास, विद्यालय पूर्वाधार सुदृढीकरण, शिक्षक तालिम तथा क्षमता अभिवृद्धि, र शिक्षालाई समाजवादी मूल्य–मान्यतासँग जोड्ने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ । सहभागीहरूले शिक्षालाई केवल परीक्षा–केन्द्रित नभई व्यवहारिक, सीपमूलक र उत्पादनसँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्