रामेछाप- रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकाको केही क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आज दिउसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क बमोजिम बिहिवार (भदौ २५) बिहान ६ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म कर्फ्यू जारी गरिएको जानकारी दिएका हुन् ।
यसअघि भदौ २४ गते राति १०ः०० बजेदेखि २५ गते बिहान ६ः०० बजेसम्म कर्फ्यू जारी गरिएकोमा पुनः सुरक्षा परिस्थिति मध्यनजर गर्दै आदेश थप लम्ब्याइएको हो । कर्फ्यू आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन् ।
कर्फ्यू क्षेत्र
मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ रामेछाप नगरपालिका र मन्थलीबीचको सुकाजोर खोला पुल (बिटारसम्म) ।
मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदनआश्रित चोक हुँदै सानीमदौ CTEVT सम्म ।
मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्र ।
रामेछाप नगरपालिका–८ भङ्गेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय तथा रामेछाप अस्पताल क्षेत्रभित्र ।
प्रशासनले कर्फ्यू आदेश उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।
