Logo

रामेछापमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी निर्वाचित



रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछाप जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछाप घण्टी चुनाव चिह्नका उम्मेदवारले सबैभन्दा धेरै मत प्राप्त गरी विजय भएको जानकारी दिएको हो ।

घण्टी चुनाव चिह्नका उम्मेदवार बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धीलाई ७ हजार १९९ मतान्तरले पराजित गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी सूर्य चुनाव चिह्नका उम्मेदवार माधवप्रसाद ढुङ्गलले १७ हजार ६०९ मत प्राप्त गरेका छन् । त्यसैगरी रुख चुनाव चिह्नका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३०७ मत ल्याएका छन् ।

निर्वाचन कार्यालयका अनुसार तारा चुनाव चिह्नका उम्मेदवार श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरेका छन् भने चिम चुनाव चिह्नका उम्मेदवार दिपबहादुर योञ्जनले ७ हजार २०१ मत पाएका छन् । हलो चुनाव चिह्नका उम्मेदवारले ५५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उम्मेदवारतर्फ माटो चुनाव चिह्नले १ हजार ३३६ मत, गिलासले १६१ मत, गुलाफले १५६ मत, आँखा चुनाव चिह्नले ११५ मत, केबलकारले ९८ मत, मौरीले ७५ मत र त्रिभुजले ६१ मत प्राप्त गरेका छन् । त्यस्तै मादल र भाले चुनाव चिह्नका उम्मेदवारले समान ५६–५६ मत ल्याएका छन् भने मोबाइल चुनाव चिह्नले ३६ मत तथा कैची चुनाव चिह्नले २२ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार रामेछाप जिल्लामा यसपटक प्रत्यक्षतर्फ ९० हजार ७१० मत खसेको थियो । तीमध्ये ८१ हजार ९९४ मत सदर भएका छन् भने ५ हजार ४८ मत बदर भएको कार्यालयले जनाएको छ ।

यससँगै रामेछापमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचन परिणाम औपचारिक रूपमा टुंगिएको छ । विजयी उम्मेदवारलाई समर्थकहरूले बधाई दिँदै उत्सव मनाएका छन् । निर्वाचन उम्मेदवारलाई पारजीत भएका अन्य पार्टीका उम्मेदवाहरुले पनि बधाई तथा शुभकामना दिएका छन् । अन्य दल तथा उम्मेदवारहरूले पनि परिणामलाई स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्ने बताएका छन् । प्रत्यक्ष तर्फको अन्तिम नतिजा सार्वजनिक भएसँगै अब समानुपातिक तर्फको मत गणना सुरु हुने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्