Logo

रामेछापमा शान्ति सुरक्षा र नागरिकता समस्याबारे अन्तरक्रिया



रामेछाप- रामेछाप जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाबारे अन्तरक्रिया गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा, जिल्ला प्रहरी कार्यालयको सहयोग र मन्थली नगरपालिकाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले सामाजिक अपराध नियन्त्रण, मादक पदार्थ दुरुपयोग, ट्राफिक व्यवस्थापन र प्रशासनिक सेवामा देखिएका समस्या तथा समाधानका उपायबारे सुझाव प्रस्तुत गरेका थिए । यस अवसरमा जिल्ला प्रशासनका नायब सुब्बा लक्ष्मण भुजेलले प्रशासनिक सेवा, सशस्त्र प्रहरी इन्सपेक्टर विकास उप्रेतीले विपद् व्यवस्थापन र जिल्ला प्रहरी प्रमुख डिएसपी भोलाकुमार भट्टले लागूऔषध दुर्व्यसनी नियन्त्रणका चुनौतीबारे जानकारी दिएका थिए ।

राजनीतिक दलका प्रतिनिधिहरूमध्ये नेपाली काङ्ग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्की र एमाले सचिव प्रकाशकुमार कार्कीले यस्ता कार्यक्रम वडा तहसम्म लैजानुपर्नेमा जोड दिए । उनीहरूले नागरिकता समस्याबारे पनि सरोकारवालालाई गम्भीर बन्न आह्वान गरे । नगरप्रमुख श्रेष्ठले नागरिकता सिफारिसमा देखिएका समस्या समाधानका लागि वडा अध्यक्ष र वडा सचिव जिम्मेवार हुने बताए । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, पत्रकार, व्यवसायी र सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्बोधनका क्रममा प्रजिअ थापाले शान्ति सुरक्षा मजबुत बनाउन नियमित अन्तरक्रिया आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक तीन महिनामा दुईवटा पालिकामा यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले रामेछापमा नागरिकता समस्या गम्भीर बन्दै गएको जनाउँदै, सामाजिक सुरक्षा भत्ता पाउन उमेर सच्याउने प्रवृत्ति व्यापक रहेको बताए । उनकाअनुसार, हालसम्म संकास्पद चारवटा नागरिकता रद्द गरिएको छ भने २३ जनाले उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता लिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्