Logo

रामेछापमा सूचना दिवसमा अन्तर्क्रिया कार्यक्रम



रामेछाप – राष्ट्रिय सूचना दिवसको अवसरमा मङ्गलवार रामेछाप जिल्लामा सूचनाको हकको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । दिवसको अवसरमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीबिच अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ रामेछापको समन्वय तथा जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा आयोजित कार्यक्रममा जिल्लामा सूचनाको हकको प्रयोग गरी सूचना माग्ने र सम्बन्धित कार्यालयले सूचना प्रदान गर्ने अभ्यास र समस्याका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले सूचनाको हकका बारेमा कार्यपत्र प्रस्तुत् गरेका थिए भने पत्रकार तथा सरोकारवालाहरुले जिल्लाको सूचनाको हकको प्रयोग र अभ्यासका बारेमा धारणा राखेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नागरिकले सूचना पाइएन भनेर गुनासो गर्नु राम्रो कुरा नभएको बताए । सेवा प्रदायक संस्थाहरु सबैले पारदर्शी बन्नु पर्ने बताउँदै नागरिकले मागेको अवस्थामा दिनमिल्ने सूचना दिनको लागि हिचकिचाउनु आवश्यक नरहेको बताए । सूचना माग्ने हरेक नागरिकलाई सजिलो र पारदर्शी ढङ्गले सेवा दिनु सबै कार्यालयहरूको दायित्व भएको पनि प्रजिअ थापालो बताए ।

कार्यक्रमका सहभागीहरुले सेवा प्रवाहमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे सुझाव दिएका छन् । उनीहरूले गाउँपालिका र नगरपालिकास्तरमै सूचना अधिकारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दिपक घिमिरेले पत्रकारले मात्र नभई सामान्य नागरिकलेसमेत सूचना पाउने अधिकार उत्तिकै रहेको भन्दै सूचनामा ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्