Logo

रामेछाप उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्वाचित



रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

रामेछाप उद्योग वाणिज्य सङ्घमा रहेका १ हजार ६ सय ९८ मतदातामध्ये शुक्रवार सम्पन्न भएको निर्वाचनमा १ हजार ३ सय ६२ मतदाता मतदान प्रक्रियामा सहभागी भएका थिए । अध्यक्षमा निर्वाचित भएका प्रकाशकुमार श्रेष्ठले ९३२ मत पाएका थिए भने उनका प्रतिस्पर्धी कुमार श्रेष्ठले ४०३ मत पाएका थिए । २७ मत भने बदर भएको निर्वाचन अधिकृत चुडामणि अर्यालले जानकारी दिए । यसअघि नै सङ्घको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका अन्य १४ जना पदाधिकारी तथा सदस्यहरू भने सर्वसम्मत भइसकेका थिए ।


निर्विरोध चयन भएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष आकाश रिजाल, महासचिवमा यज्ञप्रसाद सुवेदी, वाणिज्य उपाध्यक्ष सुरेश उदास, उद्योग उपाध्यक्ष राम सुदिश शाह सोनार, सचिव सिताराम लोहार र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी रहेका छन् ।

त्यसैगरी आजीवन कार्यसमिति सदस्य वासुदेव फुयाँल, महिला सदस्यमा मञ्जु माझी तथा खुला सदस्यतर्फ श्यामकुमार श्रेष्ठ, किशोर पौडेल, सरोजकुमार तामाङ, देवचन्द्र कठेत, राजु श्रेष्ठ र एसोसियट सदस्यमा टिकाराज आरण निर्विरोध चयन भएका भए । मत गणना सम्पन्न भएसँगै निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुका साथै सपथग्रहणसमेत शुक्रवार नै गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्