रामेछाप – रामेछाप उद्योग वाणिज्य सङ्घको नवौं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले बिहिवार सूचना जारी गर्दै सङ्घको ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न २०८२ साल चैत २० गते शुक्रवार मतदान हुने जनाएको हो ।
जारी सूचनाअनुसार निर्वाचन जिल्ला समन्वय समिति, मन्थली, रामेछापको प्राङ्गणमा सम्पन्न हुनेछ । निर्वाचन समितिले सङ्घका सम्पूर्ण सदस्य तथा मतदातालाई लक्षित गर्दै कार्यतालिका प्रकाशन गरेको जनाएको छ । यो कार्यतालिका सङ्घको २०८२ फागुन १२ गतेको नियमित कार्यसमिति बैठक तथा रामेछाप उद्योग वाणिज्य सङ्घ निर्वाचन समितिको २०८२ चैत ६ गतेको निर्णय अनुसार सार्वजनिक गरिएको हो ।
निर्वाचनमार्फत अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, वाणिज्य उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १, आजीवन कार्यसमिति सदस्य १, महिला कार्यसमिति सदस्य १, एसोसियट्स सदस्य १ र खुल्ला सदस्य ५ जना चयन हुने छन् ।
निर्वाचन कार्यतालिकाअनुसार चैत ७ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । चैत ८ गते बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म मतदाता नामावलीमा त्रुटि सच्याउने समय तोकिएको छ भने सोही दिन अपराह्न २ बजेदेखि ५ बजेसम्म दाबी–विरोध पेश गर्न सकिनेछ ।
त्यसैगरी चैत ९ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दाबी–विरोधमाथि छानबिन गरी निर्णय गरिनेछ र सोही दिन अपराह्न ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उम्मेदवारको मनोनयन दर्ता चैत १० गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ ।
निर्वाचन समितिले उम्मेदवारी मनोनयन फाराम चैत १० गते बिहान १० बजेदेखि निर्वाचन समितिको कार्यालय मन्थलीबाट एक सय रुपैयाँ शुल्क तिरी प्राप्त गर्न सकिने जनाएको छ । साथै उम्मेदवार बन्नका लागि अध्यक्ष पदमा ५० हजार रुपैयाँ, वरिष्ठ उपाध्यक्षमा ४० हजार रुपैयाँ, अन्य पदाधिकारीमा २० हजार रुपैयाँ तथा सदस्य पदमा १० हजार रुपैयाँ धरौटी रकम बैंकमा जम्मा गरेको सक्कल भौचर दरखास्तसँगै पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही दिन अपराह्न ५ः३० बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ । चैत ११ गते बिहान १०ः३० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारउपर दाबी–विरोध दर्ता गर्न सकिनेछ ।
निर्वाचन समितिले चैत १२ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दाबी–विरोधमाथि छानबिन गरी उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, दिउँसो १ बजेदेखि ३ बजेसम्म नाम फिर्ता लिन सकिने र अपराह्न ५ः३० बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने जनाएको छ ।
मतदान कार्यक्रम चैत २० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मतदानपछि आचारसंहिता तयार गरी आपसी समझदारीमा मतगणना गरिने सूचनामा उल्लेख छ ।
