रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घको आगामी २० गते हुने नवौं जिल्ला अधिवेशन (निर्वाचन) लक्षित गर्दै निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । साथै उम्मेदवार बन्न आवश्यक योग्यता र कागजातबारे विस्तृत मापदण्ड पनि जारी गरेको छ । निर्वाचन समितिकाअनुसार निर्वाचनमा १ हजार ६ सय ९८ जना सदस्यहरू मतदान प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
निर्वाचन अधिकृत चुडामणि अर्यालकाअनुसार प्रारम्भिक रूपमा १ हजार ७ सय १ जना सदस्यको नामावली तयार गरिएको थियो । तर, त्यसमध्ये ३ जना मृतक सदस्यको नाम हटाएपछि अन्तिम मतदाता सङ्ख्या १ हजार ६ सय ९८ कायम गरिएको हो । हटाइएका सदस्यहरूमा आजीवन सदस्यतर्फ कुमार विश्वकर्मा र कृष्ण गहतराज तथा साधारण सदस्यतर्फ मिश्राकुमारी मगर रहेका छन् ।
यससँगै समितिले उम्मेदवारका लागि आवश्यक कागजात र योग्यता पनि स्पष्ट गरेको छ । उम्मेदवार बन्न नेपाली नागरिकता प्रमाणपत्र, आयकर प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, सङ्घको सदस्यता परिचयपत्र, कर चुक्ता प्रमाणपत्र (आर्थिक वर्ष ०८१/०८२) तथा जमानत रकम जम्मा गरेको बैंक भौचर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
उम्मेदवारको न्यूनतम उमेर २५ वर्ष तोकिएको छ । अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका लागि भने कम्तीमा एक कार्यकाल सङ्घमा पदाधिकारी वा सदस्यका रूपमा काम गरेको अनुभव आवश्यक पर्नेछ । अन्य पदका उम्मेदवारले सङ्घको सदस्यता लिएको कम्तीमा तीन वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, उम्मेदवारी दर्ताका लागि एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य गरिएको छ । समर्थक र प्रस्तावक दुवैसँग सङ्घले जारी गरेको वैध परिचयपत्र हुनुपर्नेछ । जमानत (धरौटी) रकम पनि पदअनुसार निर्धारण गरिएको छ । अध्यक्षका लागि ५० हजार रुपैयाँ, वरिष्ठ उपाध्यक्षका लागि ४० हजार रुपैयाँ, अन्य पदाधिकारीका लागि २० हजार रुपैयाँ र सदस्य पदका लागि १० हजार रुपैयाँ तोकिएको छ । उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, मन्थली शाखामा रहेको सङ्घको खातामा जम्मा गरी सक्कल भौचर दरखास्तसँग पेश गर्नुपर्नेछ । समितिले उक्त जमानत रकम फिर्ता नहुने स्पष्ट पारेको छ । उम्मेदवारी दर्ताको लागि मङ्गलवार (आज) बिहान ११ बजेदखि बेलुका ५ बजेसम्मको लागि टोएिको छ ।
