रामेछाप- रामेछाप–काठमाडौँ तथा काठमाडौँ रामेछाप अब हप्ताको एकपटक प्रत्येक शुक्रवार नियमित उडान हुने भएको छ । बिहिवार शान्तिदीप युवा क्लव रामेछापका प्रतिनिधि र हाल रामेछाप विमान स्थलबाट उडान भर्दै आएका वायुसेवा कम्पनीहरु तारा एयस, सीता एयर र समिट एयरका रामेछाप प्रतिनिधिहरुबिच भएको छलफलबाट अब प्रत्येक हप्ताको शुक्रवार नियमित उडान गर्ने सहमति भएको शान्तिदीप युवा क्लवका अध्यक्ष सुरेश उदाशले जानकारी दिए ।
अध्यक्ष उदाशकाअनुसार हप्ताको प्रत्येक शुक्रवार तीन वटै एयरलाइन्सका जहाँजहरुले पालो लगाएर उडान गर्ने छ । सहमतिअनुसार यही कार्तिक महिलाको १४ गते शुक्रवार सीता एयर, २१ गते शुक्रवार तारा एयर र २८ गते शुक्रवार समिट एयरले रामेछाप–काठमडौँ, काठमाडौँ–रामेछाप उडान गर्ने छ । उक्त तालिका प्रत्येक महिनाको शुक्रवार लागू हुनेगरी सहमति भएको क्लवका अध्यक्ष उदाशले जानकारी दिए ।
यसअघि चाडपर्वलाई लक्षित गरी रामेछाप विमानस्थलबाट रामेछाप–काठमाडौँका लागि तीन वटा हवाई कम्पनीहरु प्रत्येकले हप्ताको एक/एक उडान गर्दै आएकोमा चाडपर्व सकिएको र विपी राजमार्गको सडक यात्रा पनि केही सहज भएपछि रामेछाप–काठमाडौँ हवाई मार्गबाट आवतजावत गर्ने यात्रुसमेत केही कमी भएकोले अब प्रत्येक हप्ताको शुक्रवार मात्र उडान गर्ने सहमति भएको उदाशले बताए ।
यसअघि पनि शान्तिदीप युवा क्लब र स्थानीय युवाहरुकै पहलमा ती हवाई कम्पनीहरु रामेछाप–काठमाडौँ उडान गर्नका लागि सहमत भएका थिए । त्यसबेला तिहारसम्मको लागि तीन वटै हावाइ कम्पनीहरुले हप्ताएको एकपटक रामेछाप–काठमाडौँ उडान गर्ने सहमति भएको थियो । तिहार सकिए लगत्तै शान्तिदीप युव क्लब र स्थानीय युवाहरुको अगुवाइमा पुनः हावाइ कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरी यही कार्तिक १४ गते (आज) देखि तीनवटै हावाइ कम्पनीहरुले समन्वय गरी पालैपालो प्रत्येक हप्ताको शुक्रवार रामेछाप काठमाडौँ उडान गर्ने सहमति गरेका हुन् ।
