Logo

रामेछाप “कृषि पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” को खर्च १६ लाख ३० हजार



रामेछाप – रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा गत माघ १६ गतेदेखि २६ गतेसम्म ११ दिन सञ्चालन गरिएको “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला २०८१” को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । सोमवार रामेछाप उद्योग वाणिज्य सङ्घको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शनी मेलाको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो । ११ दिन सञ्चालन गरिएको उक्त प्रदर्शनी मेलामा १६ लाख ३० हजार ३ सय ३८ रुपैयाँ खर्च भएको रामेछाप उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष झनकबहादुर बुढाथोकीले जानकारी दिए ।

रामेछाप “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला २०८१” को आम्दानी ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए । कोषाध्यक्ष बुढाथोकीका अनुसार नगरपालिका तथा गाउँपालिकाहरुबाट रकम आउने क्रममा रहेको छ । हालसम्म सुनापति गाउँपालिकाबाट ९८ हजार ५ सय पेस्की स्वरुप आएको, राकेश एण्ड समिना नेपालबाट २ लाख २२ हजार रुपैयाँ र स्टल बिक्रीबाट ३७ हजार रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

नगरपालिका तथा गाउँपालिकाहरुसँग प्रस्ताव गरिएको रकम प्राप्त हुँदा हाल उद्योग वाणिज्य सङ्घलाई प्राप्त भएको ३ लाख २० हजार पाँच सय रुपैयाँसहित १७ लाख ५० हजार रुपैयाँ आम्दानी हुने रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले जानकारी दिए । अध्यक्ष मगरले भने स्थानीय सरकारहरुसँग सम्झौता भएअनुसारको रकम आउने क्रममा छ, पालिकाहरुले बोलेअनुसारको रकम सबै पालिकाहरुबाट आउँदा १७ लाख ५० हजार रुपैयाँ आम्दानी हुन्छ । पालिकाहरुले दिन्छु भनि कबोल गरेको रकम आउने क्रममा रहेको पनि अध्यक्ष थापामगरले बताए । मेला प्रदर्शनीको आम्दानी १७ लाख ५० हजार रुपैयाँ हुँदा रामेछाप उद्योग वाणिज्य सङ्घलाई १ लाख १९ हजार ६ सय ६२ रुपैयाँ नफा हुँने देखिएको छ ।

गत वर्ष आयोजना गरिएको ‘वृहत् रामेछाप महोत्सव’ बाट नयाँ पाठ सिकाइ भएको भन्दै यस वर्ष कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीमा गत वर्ष भएका कमजोरीहरुलाई सुधार्ने प्रयास गरिएको बताए । अध्यक्ष थापामगरले भने– काम गर्ने क्रममा केही कमीकमजोरी हुने रहेछ, उनले भने राम्रो स्रोत साधन नभई मेला महोत्सव गर्न नसकिने रहेछ, आगामी दिनहरुमा अझ व्यवस्थित र कमजोरीरहित बनाउन प्रयास गर्ने छौँ ।

मेला प्रदर्शनीको खर्च तथा आम्दानी सार्वजनिकीकरण गर्ने कार्यक्रममा सङ्घका महासचिव कुमार श्रेष्ठ, सचिव यज्ञ सुवेदी, बरिष्ठ सदस्य जयप्रकाश श्रेष्ठ लगायत सङ्घका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादनसहित पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउने उद्देश्यले प्रदर्शनी मेला आयोजना गरिएको थियो । उक्त प्रदर्शनी मेलाले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा टेवा पुर्याउन सहयोग पुर्याएको रामेछाप उद्योग वाणिज्य सङ्घको भनाइ छ ।
यस वर्ष नयाँ मोडलमा सञ्चालन गरिएको उक्त मेला प्रदर्शनीको सुरु भएको दिन माघ १६ गतेदेखि १९ गतेसम्म मेला अवलोकन गर्न निःशुल्क प्रवेश दिइएको थियो भने माघ १९ गतेदेखि २६ गतेसम्म दिउँसो ४ बजेपछि सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रममा प्रवेश गर्नको लागि १ सय रुपैयाँ शुल्क लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्