Logo

रामेछाप नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ



रामेछाप- रामेछाप नगरपालिकाले वडा नम्बर ६ ओख्रेनी च्यास्कुमा आइतवार सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकाबाट चालु आर्थिक बर्षको हालसम्म भएका विकास निर्माणका कार्य, त्यसका लागि भएको पूँजिगत खर्चको अवस्था तथा सार्वजनिक सेवा प्रवाह एवम् आन्तरिक खर्चका विषयमा उक्त सार्वजनिक सुनुवाइ गरिएको हो ।

नगरप्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले नगरपालिकाले सम्पादन गरेका विभिन्न विषयगत शाखा समेतका क्रियाकलापको प्रगति अवस्थाका बारेमा प्रकाश पारेका थिए ।


कार्यक्रममा स्थानीय नागरिक अगुवाहरुले नगरपालिकाबाट गरिएको अपेक्षा र हुन नसकेका विकास निर्माणको कामको बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमकै अवसर पारेर भिडियो एक्सरे, महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण, विभिन्न रोगको परीक्षण र औषधी वितरण, आयुर्वेद चिकित्साबाट विरामीको उपचार, सामाजिक सुरक्षा अन्तर्गतका विभिन्न कार्य, किसानलाई तरकारीको बिउ बिजन वितरण, पशु औषधी र सेवा लगायतका नगरपालिकाबाट सम्पादन हुने सार्वजनिक सेवासमेत सञ्चालन गरिएको थियो । सयौँ स्थानीय बासिन्दाले उक्त सुविधा लिएको नगरपालिकाले जनाएको छ ।


कार्यक्रममा नगरप्रमुख लबश्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, वडा अध्यक्षहरु र विषयगत शाखाका प्रमुखहरुले सहभागिबाट आएका जिज्ञासाका सम्बन्धमा स्पष्ट पारेका थिए । न्यून आन्तरिक आय भएको रामेछाप नगरपालिकाले विभिन्न वडा स्तरमा पकेट खेती विस्तार, गेडागुडी र जुनारको व्यवसायिक खेतीको लागि सहयोग, मेरुदण्ड सडक कालोपत्र, साँघुटारमा प्राथमिक अस्पताल, कृषि एम्बुलेन्सको सेवा लगायतका प्रभावकारी कार्य गर्दै आएको छ ।


रामेछाप गरपालिकाले वडा तहमानै पुगेर सार्वजनिक सुनुवाई गर्ने र सोही दिन घुम्ती शिविरको रुपमा नगरपालिकाबाट सम्पादन हुने सम्पूर्ण सेवासमेत प्रवाह गर्ने गरेको छ । यस अघिको सार्वजनिक सुनुवाई वडा नम्बर ९ मा भएको थियो ।

पूँजिगत खर्च १३ प्रतिशत

रामेछाप नगरपालिकाले आलु आर्थिक वर्षको ८ महिनामा पूँजिगत खर्च १३ प्रतिशत गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को ८ महिनामा रामेछाप नगरपालिकाले चालुतर्फ ४४ दशमलव ०९ प्रतिशत र पूँजिगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो ।

 

चालु आर्थिक वर्षको लागि नगरपालिकाको कुल बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड ७ लाख ५५ हजार ६ सय ९४ रुपैयाँ अर्थात ३३.९१ प्रतिशत रकम खर्च गरेको भएको रामेछाप नगरपालिकाले जनाएको छ ।

उक्त कुरा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा बताएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत चापागाईका अनुसार सो अवधिसम्म चालुतर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैयाँ बजेट रहेकोमा २२ करोड ६४ लाख २३ हजार १ सय ८ रुपैयाँ अर्थात ४४ दशमलव ०९ प्रतिशत बजेट खर्च भएको छ भने पूँजिगततर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैयाँ बजेट रहेकोमा ३ करोड ४३ लाख ३२ हजार ५ सय ८६ रुपैयाँ अर्थात १३ दशमलव ४५ प्रतिशत बजेट खर्च भएको छ । सो अवधिसम्म नगरपालिका तथा वडाले विभिन्न शीर्षकमा ७० लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्