
रामेछाप- रामेछाप नगरपालिकामा ७ वटा क्लस्टर अन्तर्गत ५४ वटा बालविकास केन्द्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।
“इसिडी हार्मोनी परियोजना” अन्तर्गत चाइल्ड एड नेटवर्क फाउण्डेशनको सहयोग र रामेछाप नगरपालिकासँगको सहकार्यमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले नगरपालिकाको ९ वटै वडामा १ दिने अभिमुखीकरण तालिम दिइएको रामेछाप नगरपालिका बालविकास केन्द्रका संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।
“प्रारम्भिक बालविकासमा लगानी, दीगो राष्ट्र विकासको थालनी” भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकामा चैत्र १८ गतेबाट सुरु भएको प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधवार सम्पन्न भएको हो । कार्यक्रममा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक सङ्घका अध्यक्षसहित प्रत्येक विद्यालयबाट तीन÷तीन जनाका दरले सहभागि भएको संयाजेक श्रेष्ठले जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रममा बाल विकासको नीतिगत व्यवस्था, पाठ्यक्रम, प्रारम्भिक बालविकासको अवधारणा, बालविकास केन्द्र सञ्चालनका न्यूनतम मापदण्ड र बालमैत्री सिकाइ लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रमका प्रशिक्षक परियोजना संयोजक मैया वस्नेत र रामेछाप नगरपालिका बालविकास संयोजक सरोज श्रेष्ठले प्रारम्भिक बाल विकास, बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था, मापदण्ड, पाठ्यक्रम, बालमैत्री सिकाइ, मूल्याङ्कन लगायतका विषयवस्तु प्रस्तुत गरेका थिए ।
बुधवार रामेछाप नगरपालिकाको सभा हलमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले गरेका थिए ।
उक्त कार्यक्रमबाट प्रारम्भिक बालविकास केन्द्र सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा बनेका नीतिगत व्यवस्था, पाठ्यक्रम, प्रारम्भिक बालविकासको अवधारणाबारे जानकारी पाइएको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।