Logo

रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा



रामेछाप– रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । शनिवार रामेछापको टुँडिखेलमा आयोजित भव्य समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औपचारिक घोषणा गरेका हुन् ।

नगरप्रमुख लबश्री न्यौपानेकाअनुसार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउनका लागि आवश्यक सबै ५१ सूचक पूरा गरिएको छ । उनले आवश्यक पूर्वाधार निर्माणदेखि विभिन्न समिति र सञ्जाल गठनसम्मका काम पूरा गरेर लामो समयदेखि नगरपालिकाले बालबालिकामुखी गतिविधि अघि बढाउँदै आएको बताए । हाल रामेछाप नगरपालिकामा १८ वर्ष मुनिका १० हजार २ सयभन्दा बढी बालबालिका रहेका छन् ।

मुख्यमन्त्री बानियाँले रामेछाप नगरपालिकाले राष्ट्रिय नीतिअनुसार बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै प्रशंसा गरे । उनले बागमती प्रदेशलाई मुलुककै पहिलो बालमैत्री स्थानीय शासनयुक्त प्रदेश बनाउने लक्ष्यसहित प्रदेश सरकार अघि बढिरहेको बताए । साथै, नगरपालिकाले पेस गरेका माग सम्भव भएसम्म यसै आर्थिक वर्षभित्र, नभए आगामी वर्षमा सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाए । बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा कार्यक्रममा रामेछाप नगरपालिका स्तरीय सबै राजनीतिक दलहरुले संयुक्त हस्ताक्षर गरी नगरमा गर्नुपर्ने विकास निर्माणका कामका बारेमा मागपत्र पेस गरेका थिए ।
सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले ग्रामीण क्षेत्रमै बसेको रामेछाप नगरपालिकाले बालबालिकाको क्षेत्रमा देखाएको प्रगतिप्रति प्रसन्नता व्यक्त गरे । त्यस्तै, प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बाँदेले शिक्षा र बालबालिकाको क्षेत्रमा प्रदेश सरकार नगरपालिकासँग सहकार्य गर्ने आश्वासन दिए ।

घोषणा समारोहमा नगर क्षेत्रका विभिन्न जातजाति र समुदायको झाँकी, गीत–नृत्य लगायतका प्रस्तुति गरिएको थियो । उपप्रमुख बालकुमारी थापा कार्कीले आगन्तुकलाई स्वागत गर्दै बालमैत्री घोषणा नगरवासी सबैको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरिन् । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि लगायत सहभागीले आ–आफ्नो धारणा राखेका थिए भने सक्रिय योगदान दिनेहरुलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

समारोह अघि मानेडाँडाबाट टुँडिखेलसम्म र्‍याली आयोजना गरिएको थियो । उक्त र्‍यालीमा शिक्षक, विद्यार्थी, स्काउट, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयवासीको सक्रिय सहभागिता थियो । यसअघि केही दिनअघि मात्रै जिल्ला सदरमुकाम मन्थली नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्