Logo

रामेछाप बस दुर्घटनामा १२ जनाको मृत्यु, ८ जना घाइते



रामेछाप- रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भीरमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । केही यात्रु अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल पुर्‍याइएको छ । अस्पतालले पहिचान खुलेका मृतकहरूको पोस्टमार्टम गरिसकेको छ । मृतकमध्ये ११ जनाको सनाखत भइसकेको छ भने १ जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका एकै परिवारका ४ जना रहेका छन् । विवाह कार्यक्रममा सहभागी हुन घर फर्किँदै गरेका भिमबहादुर तामाङ, जानुमाया तामाङ, तारा तामाङ र रमिता तामाङको दुर्घटनामा मृत्यु भएको हो ।

त्यसैगरी बसका मालिक लिखु तामाकोशी–४ कोटगाउँका दिपेन्द्र बस्नेतको पनि ज्यान गएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको लिखु तामाकोशी गाउँपालिका संगठन विभाग प्रमुखसमेत रहेका थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि उनी यातायात व्यवसायमा संलग्न थिए ।

अन्य मृतकहरूमा लिखु तामाकोशी–६ का दिपेश बस्नेत, दोलखाको भिमेश्वर नगरपालिका–७ की बबि तामाङ, भिमेश्वर–८ का मानबहादुर तामाङ, लिखु तामाकोशी–६ खिम्तीका मानवहादुर बरुवाल तथा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का शिव श्रेष्ठ रहेका छन् ।

काठमाडौंबाट रामेछापको सिरीसे ढाँडे हुँदै ओखलढुङ्गाको पोल्थलीतर्फ जाँदै गरेको पूर्व अरनिको यातायात सेवा समितिको यात्रुबाहक बस मंगलबार बिहान करिब ११ बजे दुर्घटनामा परेको थियो । काठमाडौंबाट ८ जना यात्रु बोकेर छुटेको बसले बाटोमा थप यात्रु चढाएको थियो । थपिएका यात्रुको यकिन विवरण अझै खुलेको छैन ।

दुर्घटनापछि चालक घाइते अवस्थामा फेला परेका थिए । उनलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । अन्य घाइतेहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडकबाट तामाकोशी नदीमा खसेको बसलाई तानेर खाँडादेवी गाउँपालिका तर्फको नदी किनारमा पुर्‍याइएको थियो । सो क्रममा तीन जनाको शव बसबाट निकालिएको थियो भने दुर्घटनास्थलभन्दा करिब १ किलोमिटर तल सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँध निर्माणस्थल नजिक एक जनाको शव फेला परेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बस भिरबाट नदीमा खस्दा केही यात्रु र सामान बगेका थिए । बसबाट उछिट्टिएका केही शव तामाकोशीको पूर्वी किनारमा भेटिएका छन् । बसमा केही बालबालिका पनि रहेको जानकारी प्राप्त भएकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्