
रामेछाप- राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मन्थली, रामेछापले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोबल मनी विक” कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाले शुक्रवार उक्त कार्यक्रम आयोजना गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका सहायक प्रबन्धक शंकर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको उक्त वित्तीय साक्षरता कार्यक्रममा खाता सञ्चालन, नगद बचत र शेयरको विषयमा छलफल गरिएको बाणिज्य बैंक मन्थली शाखाका क्यासिएर सुदर्शन पौडेलले जानकारी दिए । पौडेलले भने– वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत हामीले विद्यार्थीहरुलाई सहभागि गराएर बैंकको चिनारी, बचत गर्दाको फाइदा, बैंक खाता सञ्चालन र शेयरको विषयमा जानकारी दिएका छौँ ।
क्यासियर पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा कक्षा १२ र स्नातक तहमा अध्ययनरत २५ जनाभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।