Logo

रिपोर्टस डायरी: पहिरोमाथिको यात्रा



सन्तोष ढुङ्गेल


रामेछाप- गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल झरीले रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको एउटा गाउँनै जोखिममा परेको खबर सुनियो । तत्काल केही गर्न सक्ने अवस्था भने थिएन र यात्रा गर्ने अवस्था पनि थिएन । नेपालीहरूको महान् पर्व वडा दसैँ पनि त्यहीबेला परेको थियो । तर, सुनापति गाउँपालिका वडा नम्बर ३ केउरेनीवासी भने उल्लास मनाउने बेला त्रासमा बाँचिरहेको थियो । अझ भनाैँ जीवन नै हत्केलामा राखेर बसेका थिए त्यहाँका ७७ घरपरिवार ।


हामीले त्यहाँका स्थानीयसँग निरन्तर सम्पर्कमा रहेर रिपोर्टिङ गरिरहेका थियौँ । पालिकाले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेको थिएन आफ्ना नागरिकको सुरक्षाको लागि । परिणामस्वरूप कुनै मानवीय क्षति भने हुनपाएन । जब हामी असोज २६ गते स्थलगत रिपोर्टिङका लागि सदरमुकाम मन्थलीबाट सुनापति गाउँपालिका प्रस्थान गरियो । उता पालिकामा पनि विपद् व्यवस्थापनको बैठक बसिरहेको थियो । हामी मन्थलीबाट म एपिवान रामेछापका रिपोर्टर सुमित श्रेष्ठ प्राइम टेलिभिजनका रामचन्द्र बिक २६ गते राति सुनापतिको एक होटलमा बास बस्यौँ । भोलीपल्ट बिहानैदेखि हामी रिपोर्टिङ गर्ने योजना बनाएर अघिल्लो दिननै त्यहाँ पुगेका थियौँ । हामीलाई हतार थियो पीडितको अवस्था बुझ्न ।


बिहानै चिया पिएर पालिका अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता बिष्ट , प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडाध्यक्ष कुलबहादुर थिङसहित पालिकाका कर्मचारी र प्रहरी सहितको टोली पहिरो गएको स्थानतर्फ लागियो । जब हाम्रो टोली खानीखोला पुग्यो र पहिरोको अनुगमन गरियो । सुरुमा देख्दा त सामान्यजस्तै लागेको थियो तर हेर्दै जाँदा कहालीलाग्दो भीर पो रहेछ । हातमा क्यामेरा बोकेर पहिरो खिच्दै हिडियो । न कुनै मान्छे हिड्ने बाटो छ त न कुनै समाउने अनि टेक्ने ठाउँ नै । पहिरोको ढुङ्गा पन्छाउँदै यात्रा अगाडि बढ्यो । एकातिर सुख्खा पहिरो झरिरहेको छ भने अर्कातिर माथि वस्तीबाट जमिन भासिएर आएको पानीले लेदो बगिरहेको थियो । यस्तै यात्रा गर्दागर्दै हामीले झन्डै डेढ किलोमिटर यात्रा पार गरेछौँ । पहिरोको अन्तिम बिन्दुमा आएर हामी फोटो भिडियो खिचिरको बेला एकासी सुख्खा पहिरो झर्‍यो तर त्यो सामान्य थियो । त्यसबेला ठुलै पहिरो गएको थियो भने न हामी भाग्ने र सुरक्षित हुने अवस्था थिएन । हामी खानीखोलामै पुरिनुको विकल्प नै थिएन । धन्न त्यो स्थिति भने आएन । झन्डै २ घण्टा पहिरोको अनुगमन गरेर फर्कने क्रममा समस्या भयो । पालिका अध्यक्ष ठुलोकान्छा तामाङ उपाध्यक्ष गीता बिष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ र म लगायतको टोली झाडी पन्छाउँदै अगाडि बढ्यौँ । हाम्रो टीमका साथी सुमित श्रेष्ठ र रामचन्द्र बिक. ड्रोन उडाउँदै अलि पछि आउनु भयो । हामी जब बाटो नभेटेपछि पहिरैपहिरो गाउँतर्फ अगाडि बढ्यौँ । अदि कोही त्यो पहिरोमा सामान्य चिप्लिए भने अडिने ठाउँसम्म पनि थिएन । अगाडि हिडेका साथीले हिड्दा ढुङ्गा झर्‍यो भने पछि आउने साथी जोगिने अवस्था पनि थिएन बल्लबल्ल पहिरो सकेर हामी गाउँ आइपुग्यौँ ।


कहालीलाग्दो दृश्य त के भने कुनै पनि घर बस्न योग्य थिएनन् । निराश र उदास केउरेनीवासीको न मुहारमा हाँसो र खुसी न कुनै आनन्द । केउरेनीवासीका अनुहारमा केवल कति बेला के हुन्छ भन्ने त्रास झल्किएको थियो । २०७२ सालको भूकम्पबाट सुरक्षित घर बनाएर बसेका स्थानीय पहिरोले आफ्नो खेतीपाती र घरनै चर्काएपछि निन्द्रा लुकाएर बस्न बाध्य भएको पायौँ । पालिका प्रमुखले पालिकाको भवन खाली गराएर भएपनि अर्को व्यवस्था नभएसम्म राख्छु, चिन्ता नगर्नु भनेपछि केही खुसी भए । राज्यले तत्काल राहत र पुनर्स्थापनाको काम तत्काल गर्नुपर्ने आवश्यकता देखियो । त्यसपछि हामी जिल्लाबाट जानु भएका साथी कान्तिपुर संवाददाता नवराज श्रेष्ठसहितको टोलीसँग भेट भयो र रिपोर्टिङ सकेर सदरमुकाम मन्थली फिर्ता भयौँ । पत्रकारलाई गाली गर्ने र लेखेको भरमा हुन्छ भन्नेले हाम्रो कर्मलाई राम्रोसँग बुझ्नु होला । हामीले पनि जीवन हत्केलामा राखेर रिपोर्टिङ गरेका हुन्छौँ ।

प्रतिक्रिया दिनुहोस्