Logo

वर्गसंघर्षदेखि संघीय गणतन्त्रसम्मको उपलब्धि जनयुद्धकै हो : झम्क कँडेल



रामेछाप– जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी रामेछाप निर्वाचन परिचालन समितिका प्रवक्ता झम्क कँडेलले २०५२ साल फागुन २ गतेबाट सुरु भएको जनयुद्धलाई “ऐतिहासिक, महान् र युगान्तकारी” आन्दोलनका रूपमा व्याख्या गरेका छन् । उनले महान् दार्शनिक कार्लमाक्सको उद्धरण गर्दै “मानव जातिको इतिहास वर्गसंघर्षको इतिहास भएको बताए ।” नेपालमा भएको जनयुद्धलाई विश्व वर्गसंघर्षको उच्च अभिव्यक्तिका रूपमा उनले चित्रित गरे ।

जनयुद्धमा सहादत प्राप्त गरेका सहिद, बेपत्ता तथा घाइते योद्धा र तिनका परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई “त्याग, बलिदान र वीरताको इतिहास” बताए । आफू प्रत्यक्ष युद्धमा सहभागी नभए पनि आन्दोलनलाई आलोचनात्मक समर्थन गरेको उल्लेख गर्दै उनले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षको ‘फ्युजन’बाट देशले ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरे ।

उनका १२ बुँदे समझदारी र त्यसपछिको शान्ति प्रक्रियाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान सम्भव भएको बताए । उनले विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान २०६३ र संविधानसभामार्फत संविधान निर्माणलाई जनयुद्धको महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्धको संघर्ष, जनआन्दोलन र माओवादी आन्दोलनको संयुक्त प्रभावबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गरे । साथै तत्कालीन नेतृत्वले शान्ति सम्झौता गरेर नयाँ राजनीतिक अध्याय सुरु गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व क्षमताको प्रशंसा गरे ।

कार्यक्रममा उनले वर्तमान राजनीतिमा “पपुलिस्ट” र “भाइरल” प्रवृत्तिको आलोचना गर्दै स्पष्ट राजनीतिक दर्शन, कार्यक्रम र आर्थिक मोडेलबिना देश सञ्चालन सम्भव नहुने बताए । उनले शिक्षा, स्वास्थ्य, आवास, रोजगारीजस्ता आधारभूत अधिकारलाई सुनिश्चित गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्नेमा जोड दिए ।

साथै, वामपन्थी एकताको आवश्यकता औंल्याउँदै उनले विभाजित शक्तिहरूलाई एकताबद्ध गरेर शान्ति, स्थिरता, सुशासन र दिगो विकासको स्पष्ट खाका अघि सार्नुपर्ने धारणा राखे । उनले जनयुद्धबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै बाँकी कामहरू योजनाबद्ध ढंगले अगाडि बढाउने संकल्प व्यक्त गरे । उनले जनताको भरोसा जित्न ठोस कार्यक्रम र परिणाममुखी काम आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्