सिन्धुली-सिन्धुली जिल्लाको चियावारीदेखि खुर्कोटसम्म ८.४ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न माग गर्दै ७३ जना सांसदहरुले संयुक्त हस्ताक्षर गरी सरकारलाई मागपत्र बुझाएका छन् ।
दैनिक हजारौँ सवारी साधनको आवतजावत हुने बिपी राजमार्गको चियावारी–खुर्कोट ३८ किलोमिटर सडकखण्ड घुमाउरो र साँघुरो भएकाले निरन्तर दुर्घटना र मानवीय क्षति व्यहोर्नुपरेको भन्दै सिन्धुलीका प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को अगुवाइमा सो क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न माग गर्दै सरकारलाई माग पत्र बुझाएको हो ।
ठूला मालवाहक गाडीहरू चल्न नपाउने सरकारी निर्णयका कारण छीमेकी जिल्लाका जनतामामाथि चर्को महङ्गी थोपरिएको विषय पनि अवगत नै छ, सांसद लेखनाथ दाहाल (राजन)ले भने । समय र पूँजीको बचत गर्ने, मानवीय क्षति र महङ्गी नियन्त्रण गर्ने एक मात्र उपाय ८.४ किमीको सुरूङ मार्ग हो भन्ने वस्तुगत सच्चाइलाई आत्मसात् गरी मेरो निरन्तर पहलमा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गर्नको लागि बजेट बिनियोजन गरे पनि वर्तमान सरकारले कार्यान्वयनमा नल्याएपछि उक्त परियोजना कार्यान्वयको लागि मागपत्र बुझाएका हौँ, सांसद दाहालले भने । चालु आर्थिक वर्षमा डिपीआर गरी लगानी जुटाएर निर्माण कार्यको थालनी गर्न मेरो पहलमा हामी ७३ जना साँसदहरूले हस्ताक्षर गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मार्फत नेपाल सरकार समक्ष पेश गरेका छौँ उनले भने ।
अर्थमन्त्रीले पनि सामूहिक हस्ताक्षरसहितको मागले योजना छनोट, बजेट विनियोजन र कार्यान्वयनमा सहयोग पुग्ने प्रतिक्रिया दिएको उनले बताए ।अर्थमन्त्रीको सकारात्मक प्रतिक्रिया रहेको छ, दाहालले भने आयोजना कार्यान्वयनमा जाने हामीले विश्वास लिएका छौँ । विश्वासका साथ हस्ताक्षर गर्नुहुने माननीय ज्यूहरूप्रति पनि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु सांसद दाहालले भने ।
