काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय रामहरि ढुंगेलको नवौं स्मृति दिवस काठमाडौंमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । रामहरि ढुंगेल स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिष्ठानका अध्यक्ष अश्विन ढुंगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस रामेछापका पूर्वसभापति तथा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रामेछापबाट उम्मेदवार रहेका रामचन्द्र खड्का, काङ्ग्रेस केन्द्रीय सदस्य बिनिता खड्का, महाधिवेशन प्रतिनिधि भरतप्रसाद चौलागाईं, रत्नहरी ढुंगेल, रामकुमारी डाँगी, झनक श्रेष्ठ, दिपेन्द्र खड्का, रामकृष्ण ढुंगेल तथा काजीबहादुर खड्का ‘दिनेश’ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता रामचन्द्र खड्काले स्वर्गीय रामहरि ढुंगेलको राजनीतिक जीवन र योगदानको स्मरण गरे । उनले ढुंगेललाई निष्ठावान, इमानदार र सिद्धान्तप्रति अडिग व्यक्तित्वका रूपमा चित्रण गर्दै नेपाली काङ्ग्रेस तथा रामेछाप जिल्लाको राजनीतिमा उनले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । खड्काले ढुंगेलले देखाएको राजनीतिक आदर्श र मूल्यलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरे ।

वि.सं. २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा रामहरि ढुंगेलले कृषि राज्य मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले नेपाली काङ्ग्रेस रामेछापका जिल्ला सभापतिको जिम्मेदवारी समेत सम्हालेका थिए । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका ढुंगेल विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यमा अडिग रहँदै निष्ठापूर्वक राजनीतिक गतिविधिमा संलग्न रहेका सहभागीहरूले स्मरण गरे ।
कार्यक्रममा उपस्थित नेताहरू तथा सहभागीहरूले स्व. ढुंगेलको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । वक्ताहरूले उनको राजनीतिक जीवन, सामाजिक योगदान र सरल व्यक्तित्वको चर्चा गर्दै यस्ता आदर्शवादी नेताको स्मरण भावी पुस्ताका लागि प्रेरणादायी हुने बताए ।
कार्यक्रममा वक्ताहरूले स्व. रामहरि ढुंगेलले देखाएको लोकतान्त्रिक आदर्श, इमानदारी र निष्ठालाई अनुसरण गर्दै समाज र राष्ट्रको विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए । स्मृति दिवसका अवसरमा सहभागीहरूले उनको योगदानलाई सदैव स्मरण गर्दै आगामी पुस्तालाई प्रेरणा दिनुपर्ने धारणा व्यक्त गरे ।
