
रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावकहरुका लागि ६ दिने अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । आफ्ना बालबालिकाहरुलाई घरमा अध्ययनको लागि उपयुक्त वातावरण कसरी निर्माण गर्ने, बालबालिकाको पढाइमा सुधार गर्न के गर्ने साथै बालबालिकालाई नैतिकवान बनाउन अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा अभिभावकलाई जिम्मेवार बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
मन्थली नगरपालिका वडा नम्बर १ को आयोजना तथा खाँडादेवी मिडिया ग्रुपको सहजीकरणमा सञ्चालन गरिएको ६ दिने अभिभावक शिक्षा कार्यक्रम बुधवार सम्पन्न भएको हो ।
अभिभावक शिक्षा समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मान्छे आफूले आफैलाई विश्वास गर्न नसक्दा समस्या आइरहेको बताए । नगरप्रमुख श्रेष्ठले भने ‘आफूले गरेको कामलाई आफैले विश्वास गर्न नसक्दा समस्या भएको छ, पहिलो कुरा आफू विश्वासिलो बन्न सक्नु पर्छ ।’
बालबालिकाको शिक्षामा सुधार गर्न अभिभावकले घरमा पनि राम्रो वातावरण बनाउनु पर्ने नगरप्रमुख श्रेष्ठले बताए । उनले भने–“हामीले त सानै देख्छौँ तर बालबालिकाहरु तीनदेखि ५ वर्षभित्रमा उ कहाँ पुग्ने र के गर्ने भन्ने लक्ष्यमा पुगिसकेको हुन्छ, विज्ञानले यो भन्छ ।”
बालबालिकाको पहिलो पाठशाला भनेको घर हो, परिवार हो, त्यसकारण पठनपाठनको लागि अभिभावकले घरमा राम्रो वातावरण निर्माण गरिदिन सक्नुपर्छ उनले भने ।
संस्थागत र सामुदायिक विद्यालयमा फरक भनेको हामीले गर्ने केही काममात्र फरक हो । नगरभित्रका संस्थागत हुन वा सामुदायिक सबै विद्यालयहरु एउटै हो । सरकारले बनाएको शिक्षा नीतिमा रहेर काम गर्ने हो । राम्रो काम गर्न पाइन्छ तर नराम्रो काम गर्ने छुट कसैलाई पनि छैन उनले भने ।
हामी सुध्रियौँ भने सबै सुध्रिन्छ भनेर लाग्नु पर्छ नगरप्रमुख श्रेष्ठले भने– ‘नगरपालिकाले शिक्षा सुधारको लागि अभियान नै चलाएको छ, हामीले बालमैत्री शासन घोषणा गर्ने भनेर नगरपालिकाको १४ वटै वडामा बालमैत्री कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’
हामीले नैतिक शिक्षा र व्यवहारिक शिक्षा आफ्ना बालबालिकालाई दिन सकियो र आफूले पनि पालना गर्न सकियो भने शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ, बालबालिकाहरुको भविष्यलाई सुनिश्चित गर्न सकिन्छ नगरप्रमुख श्रेष्ठले भने ।
मन्थली नगरपालिका वडा नम्बर १ का अध्यक्ष होमप्रसाद पौडेलले शिक्षामा गरेको लगानीको परिणाम आउन समयले लाग्ने भन्दै शिक्षामा परिणाम आउन बिहान डोजरले बाटो खनेर बेलुका ट्याक्टर हिडेको जस्तो नहुँने बताए ।
वडाध्यक्ष पौडेलले भने ‘हामीले शिक्षकलाई धेरै गाली ग¥यौँ । विद्यार्थीलाई कोठामा धेरै थुन्यौँ तर पनि सोचेजस्तो परिवर्तन आएन ।’ त्यसकारण अभिभावकमा पो समस्या छ कि भन्ने हामीलाई लाग्यो र अभिभावकमा भएको समस्या उजागार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौँ ।’
यहाँ सिकेका कुरा बालुवामा पानी हालेजस्तो नहोस् । यो कार्यक्रम अभिभावक र बालबालिकाहरुको भविष्य राम्रो होस भनेर गरिएको हो वडाध्यक्ष पौडेलले भने । अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिने बताउँदै वडाध्यक्ष पौडेलले भने– ‘आगामी वर्ष सके वडाबाट अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने छौँ, नसके कार्यपालिकाबाट निर्णय गरेर भएपनि मन्थली नगरपालिकाको १४ वटै वडाहरुमा यो कार्यक्रम सञ्चालन गरिने छ ।’