
रामेछाप- रामेछापको मन्थली नगरपालिका उपप्रमुख इश्वरी बस्नेतले सहकारी संस्थाहरु मापदण्डअनुसार चल्नु पर्ने बताइन् । ६८ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका उपप्रमुख बस्नेतले उक्त कुरा बताएकी हुन् ।
मापदण्डमा चलेका सहकारी र सहकारीबाट लिएको ऋण ठिक ठाउँमा परिचालन गर्नेहरू समस्या नपरेको पनि बस्नेतले बताइन् । बस्नेतले सहकारी मापदण्ड अनुसार चल्नु पर्ने र ऋण लिनेले पनि लिएको ऋण सही काममा प्रयोग गर्नुपर्ने बताइन् ।
जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढङ्गेलले नेपालमा सबैभन्दा ठुलो नागरिक सञ्जाल भएको सहकारी क्षेत्र अहिले गम्भीर सङ्कटमा परेको बताए । सहकारीहरू अप्ठेरोमा पर्दै गएको भन्दै अध्यक्ष ढुङ्गेलले भने यसमा लाग्नेहरुले सचेतता पूर्वक काम गर्नु आवश्यक छ ।
रामेछाप बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका अध्यक्ष जगन्नाथ दाहालले सहकारीको नाममा पैसा जम्मा गर्ने र जथाभाबी ऋण लगानी गर्नेहरूका कारण सहकारी क्षेत्र सङ्कटमा परेको बताए । सहकारीलाई व्यवस्थित गरेर लानुको विकल्प नभएको उनको भनाइ छ ।
६८ औँ सहकारी दिवसको अवसरमा मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा जिल्लाका सहकारी संस्थाहरुद्धारा आयोजना गरिएको उक्त कार्यक्रमका अन्य अतिथिहरुमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दिपककुमार घिमिरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घका संस्थापक अध्यक्ष सोमेस थापा, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घका निर्वतमान अध्यक्ष गोविन्दप्रसाद घिमिरे, जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड रामेछापका अध्यक्ष कुमार श्रेष्ठ, बहुदेश्यीय सहकारी सङ्घ लिमिटेड रामेछापका अध्यक्ष चन्द्र मानन्धर, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सङ्घ नेफ्स्कुन सेवा कार्यालय रामेछापका प्रमुख सुर्यबहादुर थापा लगायत रहेका थिए ।
औपचारिक कार्यक्रम अघि प्रभातफेरी ¥याली निकालिएको थियो । मदनआश्रित चोकबाट सुरु भएको ¥याली मन्थली बजारको कटहरबोट पुगि फर्किएर मन्थली नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम गरिएको थियो ।
यसैबिच जनहित कोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड खिम्तीले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । उक्त सहकारीका अध्यक्ष मुकुन्दप्रसाद कडरियाको अध्यक्षता तथा वडाध्यक्ष शिवप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता र जिल्ला सहकारी सङ्घ रामेछापका सदस्य दीपशीखा दाहालको विशिष्ट आतिथ्यतामा भएको हाजिरीजवाफल प्रतियोगितामा ५ वटा सहकारीले भाग लिएका थिए । प्रतियोगिताका विजयीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।