रामेछाप- सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापले बुधवार केक काटेर स्थापना दिवस मनाएको छ । आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मन्थलीस्थित सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापले विभिन्न कार्यक्रम गरी स्थाना दिवस मनाएको हो ।
स्थापना दिवस विशेष समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले सधैँ आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
उनले परिवर्तित सन्दर्भमा चुनौतीहरू पनि थपिँदै जाने भन्दै सशस्त्र प्रहरी जस्तोसुकै अवस्थामा पनि बिचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनुपर्ने बताए । प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा सङ्गठनलाई अझ प्रभावकारी तुल्याउन उत्साहका साथ कर्तव्य पथमा लाग्न पजि उजले निर्देशन दिए । जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले विपद्, सीमा रक्षालगायतका काममा सशस्त्र प्रहरी बलको भूमिका उल्लेखनीय रहेको बताए ।
सशस्त्र प्रहरी हरेक कठिन अवस्थालाई पनि सहजतामा बदलेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि थप अगाडि बढ्न आग्रह गरे । लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले देशमा विभिन्न कालखण्डमा आइपरेका विपद्, सीमा सुरक्षा लगायतका चुनौतीहरूमा सशस्त्र प्रहरीको भूमिका सह्रानीय रहेको बताए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सशस्त्र प्रहरी बल विषम परिस्थितिमा स्थापना भएर आफ्नो लक्ष्य र उद्देश्य परिपूर्तिमा अडिग रहेको बताए । देशमा विभिन्न कालखण्डमा आइपरेका विभिन्न चुनौतीहरूमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेको प्रजिअ पौडेलको भनाइ छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्माले रामेछापमा सशस्त्र प्रहरीको प्रभावकारी कार्यसम्पादनमा सहयोग गर्ने जिल्लाका सबै निकायलाई धन्यवाद दिए ।
कार्यक्रममा अमर सशस्त्र प्रहरी कर्मचारीहरूका परिवारजनहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने आन्तरिक विभिन्न प्रतियोगिताका विजेता एवम् उत्कृष्ट प्रहरी कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।