१० मंसिर, रामेछाप– रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ४ मा पर्ने सानो शैलुङ्ग महादेव स्थान रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो । सामान्यतय हामीले पुज्ने, मान्ने, भक्ति गर्ने देवालय वा धार्मिक स्थलहरुमा कालिगढले निर्माण गरेका कृतिम मुर्तिहरु राख्ने गरेको पाइन्छ । तर सानो शैलुङ्ग महादेव स्थान अन्य देवालय, धार्मिक स्थल वा मन्दीरहरु भन्दा नितान्तै फरक प्रकृतिको छ ।
सालो शैलुङ्ग महादेव स्थानमा न कुनै कृतिम मुर्तिहरु छन् नत गजुर राखेर मानिसले निर्माण गरेको मन्दीर नै । सानो शैलुङ्ग महादेव स्थानमा जेजति मूर्तिहरु वा आकारहरु छन् ती सबै प्राकृतिक रुपमा निर्मित हुन् । सानो शैलुङ्ग महादेव स्थानमा प्राकृतिक रुपमै निर्मित शिव लिङ्ग छ । करिब ६ फिट अग्लो शिवको आकार भएको प्राकृतिक मूर्ति छ । त्यो बाहेक गशेण लगायतका शिलाका थुप्रै मूर्ति वा आकारहरु छन्, ति मूर्ति वा शिलाका आकारहरु मानिसले निर्माण गरेको नभई प्राकृतिक रुपमै निर्मित भएका हुन् ।
जहाँजहाँ शिवको मूर्ति वा आकार छ त्यसको ठीकमाथि गाईको थुन आकारको शिला छ । गाईको थुनको आकार भएको शिलाबाट शिवको मूर्तिको शीरमा निरन्तर पानीको थोपा चुइरहन्छ । शिवको मूर्तिको शिरमा चुइरहने पानीको थोपा हातमा थाप्दा दूध बनेको काठमाडौं जोरपाटीबाट दर्शन गर्न आएकी भक्तजन भगवती चौलागाईले बताइन । सानो शैलुङ्ग महादेव स्थानमा लक्ष्मीको भण्डारखाल रहेको पनि जनविश्वास रहिआएको छ । महादेव स्थानमा प्रकृति निर्मित पापद्धार धर्मद्धार पनि रहेको छ ।
स्थानीय बुढापाकाका अनुसार पहिला÷पहिला भक्तजनहरु आएर महादेव स्थानमा नारायण पूजा लगाउने गर्थे । नारायण पूजाका लागि आश्यक पर्ने सामानहरु माना, पाथी, थाली जस्ता बस्तुहरु अगाडि आए बस्दथ्यो र पूजा सकिएपछि ती सामानहरु पुनः अलप हुने गर्दथ्यो । सानो शैलुङ आसपासकै एक जना तामाङले तामाको खड्कुला माग्दा दिएको र त्यो खड्कुलामा तामाङले गाईको मासु पकाएदेखि प्रत्येक्ष रुपमा भाँडाहरु दिन छोडेको भनाई छ । त्यसैगरी स्थानीय गोठलाले गाई माग्दा गाई दिएको र गाई मान्छेको पछिपछि पनि आएको तर गोठलाले गाई कतिवटा आएछ भनि पछाडि फर्किएर हेर्दा गाई अलप भएको किंबदन्ती छ । महादेव स्थानमा एउटा ढुङ्गा छ, त्यो ढुङ्गालाई मादलझै बजाउँदा अहिले पनि मादलकै आवाज आउँछ । त्यो ढुङ्गामा जो कोहीले पनि मादल बजाउन सक्छन् । स्थानीय बुढापाकाहरुका अनुसार पहिला नारायण पूजा लगाएर राति जागराम बस्नेहरुले यही ढुङ्गालाई मादल बजाएर भक्तजनहरु नाच्ने गाउँने गर्दथे ।
सानो शैलुङ्ग महादेवलाई करिब ४ सय वर्ष पहिलेदेखि पुज्न थालिएको स्थानीय नवराज थापामगरले बताए । उनकाअनुसार महादेव स्थानको नजिकै गोठमा पालिएको गाईले गोठला र बाच्छालाई दूध नदिने, दिउसोभरी गाई गोठमा नबस्ने र साँझमा बास बस्नमात्र आउने गरेपछि, दिनभरी गाई कहाँ जादोरहेछ भनि गाईको पिछा गर्दै जाँदा महादेव स्थानको शिवलिङ्गमा गाईले दूध दिएको फेला परेपछि महादेवलाई पूज्न थालिएको थियो ।
सो महादेव स्थानमा वर्षको ४ पटक मेला लाग्ने गर्दछ । श्रावणको जनैपूर्णिमा, मंसिरको बालचतुर्दशी वा सद्विऊ छर्ने औँसी, पौषपूर्णिमा र शिवरात्रीमा मेला लाग्ने गर्दछ । जनैपूर्णिमामा भक्तजनहरुले महादेव स्थानमा गएर अन्न बाली, सम्पत्ती, गाई बस्तु माग्दछन् भने बालचतुर्दशी वा सद्विऊ छर्ने औसीमा पितृहरुको नाममा बत्ती बालेर रातभरी जागराम बस्ने गर्दछन्; यो मेला दुई दिनसम्म लाग्दछ । त्यस्तै पौष पूर्णिमाको अवसरमा ८ दिनसम्म मेला लाग्दछ । सानो शैलुङ्ग महादेव स्थानमा लाग्ने यो सबैभन्दा ठूलो मेला हो । शिवरात्रीमा ३ दिनसम्म मेला लाग्द छ । अन्य बेलामा घण्ट, तामाको तिर्सुल, दूध, दही र फलपूmल चढाउने गरिए पनि शिवरात्रीमा भने शिवले गाँजा मनपराउने भएकाले गाँजा पनि चढाउने चलन रहेको सानो शैलुङ्ग संरक्षण समितिको अध्यक्ष खडानन्द थापामगरले बताए ।
सानो शैलुङ्ग महादेव स्थानमा आएर पूजाआजा गर्नेहरुको मनोकांक्षा पूरा भइरहेको पनि संरक्षण समितिका अध्यक्ष मगरको भनाई छ । बच्चा नहुने आएर बच्चा माग्दा बच्चा हुने, धन माग्दा धन प्राप्त हुने, अहिलेसम्म जे माग्यो त्यही प्राप्त हुँदै आएको छ मगरले भने । आजभन्दा करिब २० वर्ष पहिले एक जना महिलाले रित्तो कोक्रो बोकेर आई बच्चा मागेर गएको र त्यसको पछिल्लो वर्ष कोक्रोमा बच्चा बोकेर आएको उनले बताए । त्यसको साँक्षी आफै भएको पनि उनले बताए । सानो शैलुङ्गमा लाग्ने मेलाहरुमध्य विशेषगरी पौषपूर्णिमाको मेलामा टाढाटाढाबाट भक्तजनहरु आउँने गर्दछन् । सानो शैलुङ्ग धार्मिक तथा पर्यटकीय स्थल समेत भएकाले भक्तजनहरुको भिडभाड हुने गर्दछ । भक्तजनहरुको सहजताको लागि गाउँपालिका र वडा कार्यालय मार्फत सडक, रेलिङ्ग, खानेपानी, शौचालय लगायतका केही संरचनाहरु निर्माण गरिएको भए पनि पर्याप्त भने नभएको दोरम्बा गाउँपालिका–४ का वडा सदस्य रोहित मगरले बताए । सानो शैलुङ्गको विशेषताको बारेमा प्रचार हुने हो भने भक्तहरुको धुइरो लाग्ने अवस्था रहेको पनि उनले बताए । सानो शैलुङ्ग महादेव स्थान क्षेत्रको विकास गर्नु आवश्यक रहेको उनको भनाई छ । पहिलेको तुनामा अहिले केही विकास भए पनि डिपीआर नगरी काम गर्दा कस्तो खालको संरचना निर्माण गर्ने र कति बजेट लाग्छ भन्ने एकिन नहुँदा सोचेअनुसारको विकास हुन नसकेको मगरले बताए । भक्तजनहरुको सहजताको लागि डिपीआर गरेर त्यस क्षेत्रको विकास गर्नुपर्ने उनको भनाई छ । सानो शैलुङ्ग महादेव स्थान क्षेत्रको विकासको लागि ४ पटक गरि ३८ लाख रुपैयाँ बजेट परेको र त्यसबाट, महादेव थान सम्म पुग्ने सिडी निर्माण, रेलिङ, खानेपानी, शौचालय र केही घडेरीहरु खारेर घर निर्माण गरिको बताए । भक्तजनहरुको लागि खाने बस्ने ठाउँ र सवारी पार्किङको समस्या रहेको पनि उनले बताए । डिपीआर गरेपछि बजेट माग्न, बजेट हाल्न र काम गर्न सहज हुने भएकाले पहिलो आवश्कता भनेकै डिपिआर गर्नु रहेको मगरको भनाई छ ।
सानो शैलुङ्ग महादेव स्थान विकासको लागि वडाबाट मात्रै सम्भव नभएकाले गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार नै लाग्नु पर्ने वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ले बताए । त्यसको लागि पहल भइरहेको पनि वडा अध्यक्ष मगरले जानकारी दिए ।