सिन्धुली- सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले उक्त पालिकाको ३ वटा वडाका नागरिकलाई लक्षित गरी एकिकृत स्वास्थ्य शिविर आयोजना गरेको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का नागरिकलाई लक्षित गरी क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्धन अभियान सञ्चालन गरिएको हो ।
शिविरको उद्घाटन प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समयमा मानिस क्यान्सरबाट बढी पीडित हुने गरेको बताए । क्यान्सर रोगको उपचार खर्च सामान्य नागरिकले धान्न नसक्ने भएकोले प्रतिनिधिसभाको बैठकमा बारम्बार विपन्न अस्पतालको आवश्यक रहेको कुरा उठाइएको दाहालले बताए ।
सहरका सरकारी अस्पतालमा गरिबको पहुँच हुँदैन । त्यही भएर भर्ना, आइसियु, भेण्टिलेटर जस्ता सुविधा पाइँदैन, अपरेशन समयमा हुँदैन । सम्पन्नको निम्ति सरकारी अस्पतालजस्तो भएको छ । त्यसैले विपन्न नागरिक अस्पतालको खाँचो छ भनेर मैले कुरा उठाउने गरेको छु, सांसद दाहालले भने ।
गरिब परिचयपत्रको आधारमा नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने सांसद दाहालले बताए । समयमै रोगको पहिचान हुन सकेमा उपचारबाट सहजै निको हुने भएकाले हरिहरपुरगढी गाउँपालिकाको ग्रामीण क्षेत्र मानिने क्यानेश्वरमा शिविर आयोजना गर्नु अति सान्दर्भिक रहेको उनले बताए ।
शिविर सञ्चालन गरी विशेषज्ञ चिकित्सकलाई ग्रामीण क्षेत्रका नागरिकलाई भेटाएर जनतालाई चेकजाँचको अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद पनि व्यक्त गरे ।
शुक्रवार र शनिवार दुई दिन सञ्चालन गरिएको शिविरमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले शिविरभित्रै विशेषज्ञ डाक्टरहरुद्वारा शिविरमा जनरल मेडिसिन, बालरोग, स्त्री तथा प्रसूतिरोग, दन्त सेवा, आँखा, नाक, कान, घाँटीलगायतको परीक्षण गरिएको बताए । साथै क्षयरोगका संकास्पद व्यक्तिहरुको खकार जाँच, नसर्ने रोगको स्क्रिनिङ, प्रयोगशाला सेवा, युएसजी, निःशुल्क औषधी वितरण तथा स्वास्थ्य जीवन परामर्श सेवासमेत शिविरमा प्रदान गएिको उनले बताए ।
गाउँपालिकाको कार्यालय तथा स्वास्थ्य चौकीको निरीक्षणपश्चात् सङ्घीयताको नमूना हेर्न हरिहरपुरगढी गाउँपालिका जानुपर्छ भन्ने उदाहरण समेत उनले दिए ।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले स्वास्थ्य शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवाबाट बञ्चित बिरामीहरूलाई राहत पुगेको विश्वास व्यक्त गरे । जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख खगेन्द्रप्रसाद यादवले शिविरबाट बिरामीमा पत्ता लागेको जटिल प्रकृतिको रोगको उपचारका लागि गाउँपालिकाको समन्वयमा अन्य अपतालमा पठाइने बताएका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका दिपकराज तिमल्सिनाले आयुर्वेद सेवाहरु ओपिडी सेवा, फिजियोथेरापी, अकुपञ्चर, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमाहरुलाई औषधि वितरण लगायतका सेवा पनि प्रदान गरिएको जानकारी दिए ।