Logo

१४औँ गणतन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १२ कैदी मुक्त



रामेछाप– बिभिन्न कसूरमा रामेछाप कारागारमा कैद मुक्तान गरिरहेका १२ जना कैदी कारागार मुक्त भएका छन् । १४ औं गणतन्त्र दिवसको अवसरमा १२ कैदीहरुलाई जेल मुक्त गरिएको हो ।
कारागारमा रहँदा उनीहरुले देखाएका सकारात्मक चालचलन, बानी, व्यवहार र आचरणलाई आधार मानेर जिल्ला कारागार रामेछापले गत वैशाख २४ गते भुक्तान हुन बाँकी ५० प्रतिशत कैद कट्टा गरिदिनका लागि केन्द्रिय कारागार विभाग समक्ष सिफारिस गरेको थियो ।
सोही सिफारिसको आधारमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले ५० प्रतिशत कैद कट्टा गरि माफी मिनाहा गरेसँगै शनिबार ११ जना पुरुष र एक जना महिला कारागार मुक्त भएका हुन् ।
अदालतले तोके बमोजिम जम्मा कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका कर्तव्य ज्यान मुद्दाका ७ जना, साधारण चोरी मुद्दाका एक, ज्यान मार्ने उद्योग मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, नकवजनी चोरी मुद्दाका एक जना गरि ७ जना पुरुष र बहुविवाह सम्बन्धी मुद्दाका एक जना महिला गरि १२ जनालाई जेल मुक्त गरिएको जिल्ला कारागार रामेछापका प्रमुख रामकृष्ण घिमिरले जानकारी दिए ।
शनिबार कारागार मुक्त हुनेमा रामेछापका दुई जना, धनुषाका तीन जना, ओखलढुङ्गाका दुई जना, सिन्धुलीका एक जना, सोलुखुम्बुका एक जना, दोलखाका एक जना, चितवनका एक जना र बाजुराका एक जना रहेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कारागारबाट कुल चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरि माफी मिनाहा गरिदिएकी थिइन । नेपालको संविधानको धारा २७६ अनुसार फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेश समेतको आधारमा चार सय ३० जनाको बाँकी कैद कट्टा गरि मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्