जिल्ला प्रहरी कार्यालय रामेछापले वितेका तीन महिनामा के–के गर्यो ?

 आइतवार, बैशाख १९, २०७८ | onlinenews
Share this

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले गएको तीन महिनामा गरेको गतिविधि तथा प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा फैसला कार्यान्वयनतर्फ बिभिन्न मुद्दाका २४ जना प्रतिवादी पक्राउ गरेको छ । प्रक्राउ परेका प्रतिवादीहरुलाई ७ वर्ष ५ महिना १४ दिन कैद सजाय र २ लाख ७ हजार ५ सय १ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
त्यसैगरी २०७७ साल चैत्र २५ गते राति २१ बोरा (१६२ किलो) अवैध जडिबुटी (झ्याउ) ओसारपसारमा सम्लग्न बा.४ ख ९७९० नम्बरको ट्रक सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ब्यक्तिहरु हालसम्म जिल्ला प्रहरी कार्यालयकै हिरासतमा रहेका छन् भने उनीहरुमाथि वन कार्यालयबाट अनुसन्धान भइरहेको छ ।
२०७८ बैशाख १ गते अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा सिशौ जातको २० थान (६९.५५ क्युफिट) गोलाई काठ सहित ज. १ त ८०२५ नम्बर को ट्याक्टर र २ जना पक्राउ गरी कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा पठाइएकोमा उनीहरुलाई हाजिर जमानीमा छोडिएको र वन कार्यालयबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
तीन महिनाकै अवधिमा मदिरा ३ सय ९७ लिटर नियन्त्रणमा लिई नष्ट गरिएको छ भने अवैध उत्खनन् बालुवा चोरी निकासितर्फ ट्याक्टर नियन्त्रणमा लिई ५ हजार रुपैयाँ जरीवाना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।
२०७७ को माघ, फागुन र चैत महिनामा जिल्ला प्रहरी कार्यालय तथा मातहबाट अपराध न्यूनिकरण र नियन्त्रण साथै समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउन ३ वटा नागरिक सुनुवाइ कार्यक्रम, ५० वटा समुदाय केन्द्रित सचेतना कार्यक्रम, १ वटा सरसफाइ कार्यक्रम, प्रहरीसँग एक दिन कार्यक्रम २ वटा र बिद्यालय सम्पर्क कार्यक्रम २२ वटा सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख छ ।
शान्तिसुरक्षाको राम्रो अवस्था सिर्जना गर्न, अपराध अनुसन्धान तथा समाजमा हुने अवान्छित गतिविधिहरु नियन्त्रण तथा निर्मूल गर्न लामो दुरीको गस्ति (LRP)र सादा पोशाकमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थुनुवाहरुलाई मानवोचित ब्यवहार, स्वास्थ्य जाँच, बिरामी भएमा उपचारको प्रबन्ध, थुनामा राख्दा र छाड्दा स्वास्थ्य जाँच र मनोरञ्जनको लागि हिरासत कक्षमा टि.भि.२ थान प्रहरीले आफ्नै स्रोतबाट उपलब्ध गराएको छ ।
त्यसैगरी न्यायिक प्रक्रियामा बालबालिकाको प्रतिष्ठा र मर्यादाको नैसर्गिक अधिकारलाई सम्मान गर्दै बालबिज्याँई घटनाहरुमा संलग्न बालबालिकाहरुलाई राख्न बाल निग्रानी कक्षको ब्यवस्था समेत गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
तीन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा विभिन्न शीर्षकमा ५३ वटा मुद्धा दर्ता भएको छ भने विभिन्न अभियोगमा ४४ जना अभियुक्तहरु पक्राउ परेका छन् ।

Share this

प्रतिकृया

Add