रामेछापको दोरम्बामा कोरोनाबाट एकै परिवारका दुई जनाको मृत्यु

 सोमवार, बैशाख २७, २०७८ | onlinenews
Share this

रामेछाप– रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कोरोना संक्रमबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ । दोरम्बा गाउँपालिका–२ का ४७ वर्षिय कोरोना संक्रमित सविनलाल तामाङ र कोरोनाको लक्षण देखिएका सविनका दाई ५८ वर्षिय गोपीलाल तामाङको ज्यान गएको हो ।
कोरोना सङक्रमणका कारण बिरामी परेका सविनको काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार दिउँसो करिब १२ बजेको समयमा मृत्यु भएको दोरम्बा गाउँपालिका–२ नं. वडा कार्यालयद्वारा जारी शोक विज्ञप्तीमा उल्लेख छ । उपचारको लागि शिक्षण अस्तपालमा भर्ना गरिएको सविनको आइसियु वेड र अक्सिजन नपाइको कारण ज्यान गएको वडा सदस्य रञ्जित मोक्तानको भनाई छ ।
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका गोपीलालको सोमबार बिहान आफ्नै घरमा मृत्यु भएको मोक्तानले जानकारी दिए । उनका अनुसार गोपीलाल ज्वरो, रुघा, खोकी लगायतका विरामीको कारण विगत १०÷१२ दिनदेखि अशक्त भएका थिए । गोपीलालको पिसिआर नगरिएकाले कोरोनाकै कारण उनको मृत्यु भएको भन्ने आधार नभए पनि कोरोनाको लक्षण देखिएको वडा सदस्य मोक्तानले बताए ।
यही वैशाख ५ गते गाउँकै एक विवाह भोजमा सहभागी भएका पाँच जनामा केही दिनपछि रुघाखोकी साथै ज्वरो आएपछि उनीहरुको पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।
गोपीलालको शवलाई स्वास्थ्यकर्मीसहितको टोलीले व्यवस्थापन गरेको पनि मोक्तानले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीले मृतक तामाङको घर र टोलमा कोरोना भाइरसको किटाणु मार्ने विषादी छर्केर निःसङक्रमण गरिसकेको पनि वडा सदस्य मोक्तानले बताए । उनका अनुसार मंगलबारदेखि त्यस टोल आसपासमा रहेका सबैको पीसिआर टेष्ट गरिनेछ ।

Share this

प्रतिकृया

Add