स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई माग

 शुक्रबार, बैशाख ३१, २०७८ | onlinenews
Share this

रामेछाप– मानव अधिकार संरक्षण सञ्जाल रामेछापले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई गर्न सरोकारवालासँग माग गरेको छ । सञ्जालले शुक्रबार विभिन्न दश बुँदे मागसहितको ध्यानकर्षण पत्र जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई गर्न सरोकारवालासँग माग गरेको हो ।
कोभिड–१९ सङ्क्रमणको महामारीले देश नै आक्रान्त बनिरहेको बेला रामेछाप जिल्लामा पनि दिनानुदिन बढ्दै गएको कोरोना सङ्क्रमणका कारण पाँच जनाको मृत्यु समेत भइसको उल्लेख गर्दै सञ्जालले ठूलो मानवीय क्षति हुन नदिन स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाई गर्नुपर्ने बताएको हो ।
स्वास्थ्य सुरक्षा मापदण्डको कडाईमा ध्यान नदिने हो भने ठूलो मानवीय क्षति हुन सक्नेप्रति सञ्जालले सम्बन्धित सरोकारवालालाई सचेत गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा आवश्यक सावधानी तथा तयारी नभएको गुनासो आइरहेको उल्लेख गर्दै सञ्जालले जिल्लामा हालसम्म एउटा पनि आईसीयू तथा भेण्टिलेटर नभएकोले त्यसको तत्काल व्यवस्थापन गर्न, प्रत्येक पालिकामा अक्सिजनसहितको कोभिड अस्पतालको व्यवस्था गर्न र सदरमुकाम मन्थलीमा दुई सय जना बिरामी अटाउन सक्ने क्षमतायुक्त अक्सिजनसहितको आइसोलेसन कक्ष स्थापना गर्न, जिल्ला प्रवेश गर्ने नाकामा कडाई गर्न र अत्यावश्यक सामाग्री बिक्री वितरण गर्ने पसलमा स्वास्थ्य सुरक्षा मापदण्डहरु हातधुने तथा सेनिटाइजरको व्यवस्था र सामाजिक दुरी कायम गरी किनमेल गर्ने व्यवस्था नमिलाएको पाइएकोले अनुगमन गरी कडा कारबाहीको व्यवस्था मिलाउनुपर्ने समेत माग गरिएको छ । यस्तै, सञ्जालले बैङ्क तथा वित्तीय संस्थामा मानिसहरुको भिडभाड हुने गरेको पाइएकोले अनुगमन गरी उचित व्यवस्था मिलाउन र तोकिएका मापदण्ड पालन नगरेमा आवश्यक कारबाहीको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
यसैगरी अत्यावश्यक सामाग्री खरिदको लागि दिइएको समयमा अनावश्यक रुपमा मानिसहरु हिडडुल गरेको पाइएकोले सो समयलाई पुनर्विचार गरी त्यसरी हिड्नेलाई कारबाही गर्नुुपर्ने, कोभिड परीक्षणको दायरालाई बढाउनुपर्ने र परीक्षणका लागि स्वाव दिएका तथा सङ्क्रमण पुष्टि भएका व्यक्ति खुलेआम बाहिर हिड्ने गरकोले उनीहरुलाई काबारहीको व्यवस्था गर्नुपर्ने लगायतका माग सञ्जाले अघि सारेको छ ।

Share this

प्रतिकृया

Add