सुनापति गाउँपालिकाको खनियापानीमा लाम्पाते खानेपानी आयोजना चार वर्षदेखि अलपत्र

आर्थिक अनियमितता गरेको स्थानीयको आरोप

 शनिबार, जेष्ठ २९, २०७८ | onlinenews
Share this

रामेछाप–रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर संचालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् ।
आयोजना पूरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजना चार बर्षदेखि अलपत्र परेपछि स्थानीय आक्रोशित भएका हुन् ।
करिब ७० लाख लागतको सो आयोजनाका अध्यक्ष हुन् भोलाराज रोका । आयोजना भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको लामो समय हुँदा पनि आर्थिक अनियमितता गरेर रोकाले खानेपानी वितरणमा आनकानी गरिरहेको स्थानीयको आरोप छ ।

‘भौतिक निर्माणको काम करिब अन्तिम चरणमा छ’ स्थानीय प्रमोद भण्डारीले भने–‘अध्यक्षलाई हामीले आयोजनाको हिसाब मागेका छौं, उहाँले सार्वजनिक सुनुवाई मार्फत हिसाब देखाउन आनाकानी गर्नुभयो ।’
स्थानीय निकाय र सामुदायिक विकास समाजकोबीचमा सो आयोजना दुई वर्षभित्र सम्पन्न गर्नेगरी ०७४ सालमा सम्झौता भएको थियो । यसअघिका शुरेस रोकाको अध्यक्षतामा रहेको उपभोक्ता समिति पछि परिवर्तन भयो ।
शुरेर रोकाले अध्यक्ष पद हस्तान्तरण गरेपछि आयोजना निर्माणमा कुनै प्रगति नभएको स्थानीय युवा विष्णुहरी पुलामीले बताए । उनले भने–‘वर्तमान अध्यक्ष भोलाराज रोका गैह्रजिम्मेवार हुँदा हामी खानेपानीबाट बञ्चित भएका छौं ।’

आयोजनामा अनियमितता भएको भनेर गाउँपालिका कार्यालयमा उजुरी पनि परेको छ । आयोजनामा काम गर्ने प्राविधिकले अझै ज्याला पाएका छैनन् । आयोजना सम्पन्न गर्नका लागि उपभोक्ताबाट रकम असुल गरिएको छ । तेस्रो पटक गाउँपालिकाबाट निकाशा गरिएको १० लाखको हिसाब अध्यक्ष रोकाले देखाउन नसकेको स्थानीयले आरोप लगाएका छन् । आयोजना पूरा हुँदा ८८ घर, परिवार लाभान्वित हुनेछन् ।

आयोजनाका अध्यक्ष भोलाराज रोकाले खानेपानी आयोजना पूरा गर्न आपूm तयार भएपनि उपभोक्ताले नै असहयोग गरेको दाबी गरे । उनले भने–‘पानी खोल्न खोलामा जानुपर्छ, मासिक २० हजार दिन्छु भन्दापनि खोल्न जाने मान्छे तयार नभएपछि म आफैं गएर सयम–समयमा धारामा पानी खसालेको छु ।’
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले उपभोक्ताको भेला गरेर सार्वजनिक सुनुवाई मार्फत हिसाब माग्न स्थानीयलाई आग्रह गरेका छन् । लामाले भने–‘भेला मार्फत हिसाब माग्न भनेको छु, आयोजनाका अध्यक्ष पारदर्शि नभएको भेटिए छानविन गर्छौ, कानुन अनुसार कारबाही हुन्छ ।’

Share this

प्रतिकृया

Add