वित्तीय शिक्षालाई आफ्ना सदस्यहरुसम्म पुर्याउने सहकारी सञ्चालकहरुको प्रतिबद्धता

 बिहिबार, असार ३, २०७८ | onlinenews
Share this

रामेछाप– रामेछाप जिल्लामा सञ्चालीत सहकारी संस्थाहरुले वित्तीय शिक्षालाई आफ्ना शेयर सदस्यहरुसम्म पुर्याउने प्रतिवद्धता जनाएका छन् ।
सहकारी संस्थाका पदाधिकारीहरुले वित्तीय साक्षरता सम्बन्धी भर्चुअल माध्यमबाट तीन दिनको तालिम पाएपछि तालिममा सहभागी रामेछापका ८ वटा सहकारी संस्थाका सञ्चालक तथा ब्यवस्थापकहरुले वित्तीय शिक्षालाई आफ्ना शेयर सदस्यहरुसम्म पुर्याउने प्रतिवद्धता जनाएका हुन् ।

डिप्रोक्स नेपालको आयोजना तथा रामेछापको मन्थली नगरपालिका तथा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा गत मंगलबार देखि आज बिहिवारसम्म ३ दिन अर्चुअल विधिबाट सहकारी संस्थाका पदाधिकारीहरुका लागि वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको थियो । तालिममा संस्थाका अध्यक्ष, व्यवस्थापक, संस्थाका अन्य पदाधिकारी, शिक्षा समितिका संयोजक तथा जिल्ला बचत तथा ऋण सहकारी संघको सहभागिता रहेको थियो ।
सहकारी संस्थाका प्रतिनिधिहरुलाई वित्तीय साक्षरताको आधारभूत विषयवस्तुहरुको ज्ञान तथा सीप प्रदान गर्ने, सहकारी संस्थाहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान सीपहरुलाई आफ्ना सदस्य वा सम्भावित सदस्यहरु माझ पुर्याउने र वित्तीय अनुसासनयुक्त सदस्य बनाउन प्रोत्साहित गरि वित्तीय सेवाबाट बञ्चित ब्यक्तिहरुलाई बित्तीय सेवाहरुमा सहज पहुँच र बचत बृद्धि गर्न उत्प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा आर्थिक स्वतन्त्रता प्राप्तिको लागि ब्यक्ति, परिवार र संस्थाहरुले अपनाउनु पर्ने विधि प्रक्रिया र वित्तीय अनुशासनको विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो । त्यसैगरी वर्तमान अवस्थामा समाजले अपानाइरहेका वित्तीय प्रणाली र वित्तीय जीवन ब्यवहारको विश्लेषण तथा मानिसले वित्तीय लक्ष्य प्राप्त गर्न निरन्तर आर्थिक उन्नतीको लागि गर्नुपर्ने गतिविधि, अपनाउनु पर्ने प्रक्रिया र वित्तीय अनुशासनको विषयमा आधारित प्रशिक्षण तथा छलफल भएको थियो ।

ब्यक्ति, परिवार वा संस्थाले आम्दानीको आधारमा खर्चको योजना निर्माण गर्नु, खर्चको प्राथमिकीकरण गरि खर्च गर्ने, अत्यवाश्यक बाहेक हुने गरेको खर्चको कटौती गरि अनावश्यक खर्च नगर्ने र बचतलाई पहिलो प्रथामिकतामा राख्ने हो भने विपन्न मानिस पनि आर्थिक रुपमा सम्पन्न बन्न सक्छ र गरिबी न्यूनिकरण हुन्छ भन्ने तालिमको मुख्य विषयबस्तु रहेको थियो । साथै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय साक्षरता बनाउनको लागि सञ्चालन गर्न सकिने गतिविधि तथा प्रयासहरुको बारेमा पनि तालिममा छलफल भएको थियो । सम्पन्न आर्थिक जीवनको लागि तालिम अत्यन्तै उपयोगी भएको सहभागिहरुको भनाई छ ।

तालिम समापन कार्यक्रमलाई संवोधन गर्दै डिप्रोक्स नेपालका निर्देशक कैलाश रिजालले तीन दिनको तालिमले सामी परियोजनाले वैदेशिक रोजगारीमा गएका परिवारहरुका लागि सञ्चालन गरेको वित्तीय साक्षरतालाई अझ प्रभाविकारी बनाउन सहयोग पुग्ने आपूmले अपेक्षा गरेको बताए ।

लक्ष्य बनाएर अगाडि बढेमा सफलता प्राप्त गर्न सकिने बताउँदै सहकारी संस्थाहरु राज्यको अर्थतन्त्रको एक बलियो खम्बा भएकाले आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता शिक्षा दिन आवश्यक रहेको बताए । सहकारी समग्र अर्थतन्त्रको अभिन्न अंङ्ग भएको निर्देशक रिजालले बताए । तीन दिनको तालिमले फिल्डमा प्रभावकारी नतिजा दिनेमा आपूm विश्वस्त रहेको पनि उनले बताए ।
त्यसैगरी गरी सामी/हेल्भेटासका तालिम तथा बित्तीय साक्षरता संयोजक सनत प्रसाद सापकोटाले सामी परियोजनाले वैदेशिक रोजगारिको क्रममा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको बताए । दक्ष भएर वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि सामी परियोजनाले निशूल्क तालिम सञ्चालन गर्दै आएकाले आवश्यक परेमा सम्पर्क गर्न पनि आग्रह गरे ।

त्यस्तै समापन मन्तब्यका क्रममा सामी हेल्भेटारका बागमती प्रदेश संयोजक तरुण अधिकारीले तीन दिनको तालिमबाट वित्तीय साक्षरतालाई परिस्कृत बनाएर आगामी दिनमा अझ प्रभावकारी बनाउन सहयोग पुगेको बताए । वित्तीय साक्षरता कार्यक्रममा सहभागि वैदेशिक रोजगारमा रहेकाका परिवारले सिकेका कुरालाई ब्यवहारमा उतार्न सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै सहकार्यको लागि अनुरोध गर्दै अपेक्षा समेत ब्यक्त गरे ।
रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले वित्तीय शिक्षालाई समुदायसम्म लैजान आवश्यक रहेको बताए । समुदायमा रहेको पैसालाई ब्यवस्थित रुपमा परिचालन गर्नको लागि वित्तीय शिक्षा कार्यक्रमलाई समुदाय स्तरसम्म पुर्याउन आवश्यक रहेको दाहालको भनाई छ । आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउने सहकारीहरुको लक्ष्य भएकाले सबै उमेर समूहका बचतकर्ता तथा सदस्यहरुमा वित्तीय शिक्षा पुर्याउन अपरिहार्य भएको दाहालले बताए । समुदाय स्तरमा वित्तीय साक्षरता शिक्षा सञ्चालनको लागि समन्वय गर्न आपूm तयार रहेको बताउदै स्थानीय सरकारले समेत वित्तीय साक्षरता कार्यक्रमलाई आफ्ना नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने धारणा राखे ।
तीन दिने तालिममा सामी/हेल्भेटासका तालिम तथा बित्तीय साक्षरता संयोजक सनत प्रसाद सापकोटा, डिप्रोक्स नेपालका निर्देशक कैलाश रिजाल तथा तालिम तथा मिल मेनेजर पूर्ण प्रसाद पौडेल तथा क्षेत्रीय संयोजकहरु सागर बिक्रम बस्नेत, प्रबिना अर्याल, ओजोन बावु आचार्य, जुनादेवि खत्री, विशाल कुमार कर्ण गितादेवि बञ्जरा लगायतले सहजीकरण गरेका थिए ।

Share this

प्रतिकृया

Add