सुनापतिमा उद्यमशीलता प्रवर्धन तालिम

 आइतवार, माघ ७, २०८० | onlinenews
Share this

 

रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा तीन महिने युवा उद्यमशीलता प्रवर्धनको लागि कुक तालिम सम्पन्न भएको छ । गाउँपालिकासँगको समन्वयमा बिएमजेड जर्मनी, चाइल्ड नेटवर्क जर्मनीको आर्थिक सहयोग तथा स्किल नेपालको प्राविधिक सहकार्य र सामुदायिक विकास समाज (सिडिएस) मार्फत सञ्चालित युवा उद्यमशीलता परियोजनाको आयोजनामा तीन महिने तालिम सञ्चालन गरिएको थियो ।
सुनापति गाउँपालिका–४ बेथानको डहुमा सञ्चालन गरिएको ३ महिने तालिममा २० जना युवाहरुले तालिम लिएको परियोजनाका फिल्ड संयोजक राजुबिक्रम बस्नेतले जानकारी दिए । स्थानीय युवाहरुलाई उद्यमशील बनाई स्वरोजगार सिर्जना आत्मनिर्भर बनाउने उद्देश्यले सिटिइभिटिई तह एकको तालिम आयोजना गरिएको बस्नेतको भनाइ छ । तीन महिने तालिमको मुख्य प्रशिक्षकको रुपमा सञ्जीव चौधरी र सहायक प्रशिक्षकमा रोशन श्रेष्ठ रहेका थिए ।


तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुनापति गाउँपालिका–४ का वडाध्यक्ष डण्डुप लामाले वडामा उद्यम विकास गर्ने उद्देश्यले सीपको क्षेत्रमा लगानी गरी वडाका युवालाई तालिम दिई दक्ष बनाएकोमा सामुदायिक विकास समाजलाई धन्यवाद दिए । वडाध्यक्ष लामाले आगामी दिनमा पनि यस्ता महत्वपूर्ण तालिमहरू वडामा सञ्चालन गर्न सहज वातावरण तयार गरी सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
परियोजना संयोजक कृष्ण श्रेष्ठको अध्यक्षमा भएको समापन कार्यक्रमका अन्य अतिथिहरुमा स्किल नेपालका फिल्ड संयोजक डम्बर थापा लगायत रहेका थिए । समापन कार्यक्रमको सहजिकरण उद्यम विकास सहजकर्ता हरिमाया मगरले गरेकी थिइन ।

Share this

प्रतिकृया

Add