कमलामाई–६ बालमैत्री वडा घोषणाको तयारी

 बिहिबार, असार ७, २०८१ | onlinenews
Share this

सिन्धुली- कमलामाई नगरपालिकाको वडा नम्बर ६ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गर्ने तयारी भइरहेको छ । यही असार अन्तिममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ । बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न पूरा गर्नुपर्ने ५१ वटा सूचकमध्ये ८० प्रतिशत काम सकिसकेको वडाअध्यक्ष उज्ज्वलकुमार थापाले जानकारी दिए । असार मसान्तमा आफ्नो वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारी रहेको उनको भनाइ छ । वडाभित्रका २ हजार १ सय २ परिवारमा बालबालिकाको समग्र अवस्थाको बारेमा सर्वेक्षण गरी बालबालिकाको वस्तुस्थिति विवरण तयार गरेको वडाध्यक्ष थापाले जानकारी बताए । स्थानीय तहले बालबालिकाको आवधिक तथा वार्षिक लगानी योजना तर्जुमा कार्यान्वयनलाई सूचनामा आधारित, व्यवस्थित, नतिजामूलक, बाल सहभागितामूलक र प्रभावकारी बनाउन बालबालिकाको वस्तुस्थिति विवरणले वडा तथा अन्य विकास प्रदायक संस्थालाई महत्वपूर्ण आधार प्रदान गर्ने उनको भनाइ छ ।

वडामा असार मसान्त अगावै बालबालिकाका शिक्षा, स्वास्थ्य, बालहिंसा तथा बालश्रमको अवस्था विद्यमान भए सूचना तथा समाचार सम्प्रेषण गरी सहयोग गर्न वडाअध्यक्ष थापाले आग्रह गरे । वडालाई बालमैत्री घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपाल, मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपाल सिन्धुलीको साझेदारी, कमलामाई नगरपालिकाको समन्वयमा लामो समयदेखि काम गर्दै आएको वडाले जानकारी दिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले वडा नम्बर ६ ले बालमैत्री वडा घोषणाका लागि गरिरहेको प्रयासलाई नजिकबाट नियालिरहेको बताइन् । बालमैत्री वडा घोषणा पश्चान् अझ चुनौती थपिने भएकाले त्यस्ता दीर्घकालीन कुरामा समेत ध्यान दिन उनले आग्रह गरिन् ।

वडा सचिव जगदिश कार्कीले असार मसान्तमा बालमैत्री वडा घोषणा गरिने भएकाले यस अभियानमा सबैले साथ दिन आग्रह गरे । बालश्रम भएको कतै देखेमा खबरदारी गरी सहयोग गर्न समेत उनले आग्रह गरे । साथै, अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि र सञ्चारकर्मीले असार मसान्तमा बालमैत्री वडा घोषणा गर्न आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । कमलामाई–६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने सिन्धुली जिल्लाको पाँचौ वडा बन्ने छ । यसअघि तीनपाटनका ३ वटा र फिक्कलको १ वडा बालमैत्री शासनयुक्त वडा घोषणा भइसकेको छ ।

Share this

प्रतिकृया

Add