Logo

सवारी कारबाहीबाट ६ महिनामा १५ लाख राजश्व



रामेछाप- ट्राफिक प्रहरी कार्यालय रामेछापमा चालु आर्थिक वर्षको ६ महिनामा १५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा चालुक आर्थिक वर्षमा ट्राफिक प्रहरीबाट सङ्कलन हुने राजश्व घटेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को झन्डै ६ महिनाको अवधिमा जिल ट्राफिक प्रहरी कार्यालय रामेछापले १ हजार ४४८ वटा सवारी साधन कारबाहीबाट १५ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०/०८१ को पुससम्म ४ हजार २३५ वटा सवारी कारबाहीबाट ३९ लाख ३८ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
चालु आर्थिक वर्षको पुस १८ गतेसम्म साना तथा ठुला गरी १ हजार ४४८ वटा सवारी कारबाहीबाट १५ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले जानकारी दिए ।

चौलागाईकाअनुसार चालु आर्थिक वर्षको साउन महिनामा २४२ सवारी साधन कारबाहीबाट तीन लाख ३६ हजार ५ सय, भदौ महिनामा ३१३ वटा सवारी कारबाहीबाट दुई लाख ९३ हजार र असोज महिनामा २४१ वटा सवारी कारबाहीबाट दुई लाख ७० हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

त्यसैगरी कार्तिक महिनामा २८४ सवारी कारबाहीबाट ३ लाख ३० हजार ५ सय, मङ्सिर महिनामा २१२ सवारी कारबाहीबाट दुई लाख ३० हजार ५ सय रुपैयाँ र पौष महिनाको १८ गतेसम्म १५६ वटा सवारी कारबाहीबाट १ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्न भएको ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनमा ३८५ सवारी कारबाहीबाट तीन लाख ७१ हजार ५ सय, भदौमा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार ५ सय र असोजमा ७५० वटा सवारी कारबाहीबाट ७ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

कार्तिकमा एक हजार ५० सवारी कारबाहीबाट १० लाख १६ हजार ५ सय, मङ्सिरमा ७०० सवारी कारबाहीबाट ६ लाख ४५ हजार ५ सय रुपैयाँ र पौष महिनामा ८०० सवारी कारबाहीबाट ६ लाख ८९ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

ट्राफिक प्रहरी रामेछापले गत आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असार महिनासम्म साना तथा ठुला गरी ८ हजार ८०९ वटा सवारी कारबाहीबाट ८१ लाख ४० हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्