रामेछाप-रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ सानीमदौ निवासी शिक्षाप्रेमी तथा समाजसेवी तेजप्रसाद सुवेदी (श्याम सुवेदी) परिवारले विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको जेहनदार छात्रा शिक्षा हातेमालो कार्यक्रम अन्तर्गत यस वर्ष ८३ छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । मन्थली नगरपालिका र लिखु तामाकोसी गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयका जेहनदार, गरिब, विपन्न तथा दलित परिवारका छात्राहरुलाई नगद तथा शैक्षिक सामग्री प्रदान गरेको हो । सोमवार एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेहरुमा सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका ६ जना, तामाकोसी क्याम्पस खिम्तीका १२ जना, भैरवी माध्यमिक विद्यालय सुनारपानीका १० जना, सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोकका १० जना, सेतीदेवी माध्यमिक विद्यालय सालुका १० जना र मन्थली मध्यमिक विद्यालय मन्थलीका ३५ जना छात्राहरु रहेका छन् ।

जसमा सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका ६ जना मध्ये २ जनाले नगद छात्रवृत्ति अन्तर्गत १८ हजार रुपैयाँ नगदसहित ट्रयाकसुट, झोला र कलम पाएका छन् भने ४ जनाले शैक्षिक सामग्री अन्तर्गत ट्रयाकसुट, झोला र एक बर्षलाई पुग्ने कापी कलम पाएका छन् । नगद छात्रवृत्ति अन्तर्गत नगदसहित ट्रयाकसुट, झोला र कलम रहेका छन् भने शैक्षिक सामग्री अन्तर्गत ट्रयाकसुट, झोला र एक बर्षलाई पुग्ने कापी कलम रहेका छन् ।
तामाकोसी क्याम्पस, खिम्तीका ४ जनाले १८ हजार नगदसहितको छात्रवृत्ति पाएका छन् भने ८ जनाले शैक्षिक सामग्री पाएका छन् । भैरवी माध्यमिक विद्यालय सुनारपानीका ३ जनाले १० हजार रुपैयाँ नगदसहितको छात्रवृत्ति र ७ जनाले शैक्षिक सामग्री पाएका छन् । त्यसैगरी सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोकका ३ छात्राले १० हजार रुपैयाँ नगदसहितका छात्रवृत्ति र ७ जनाले शैक्षिक सामग्री पाएका छन् । सेतीदेवी माध्यमिक विद्यालय सालुका ३ जनाले १० हजार रुपैयाँ नगदसहितको छात्रवृत्ति र ७ छात्राले शैक्षिक सामग्री पाएका छन् भने मन्थली माध्यमिक विद्यालय मन्थलीका १० जनाले १० हजार रुपैयाँ नगदसहितको छात्रवृत्ति र २५ जनाले शैक्षिक सामग्री पाएका छन् । १८ हजार र १० हजार रुपैयाँ गरी २५ जना छात्रालाई २ लाख ९८ हजार रुपैयाँ नगद प्रदान गरिएको छ भने अन्य ५८ छात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । नगद र शैक्षिक सामग्री गरी ११ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको दाता तेजप्रसाद सुवेदी (श्याम सुवेदी) ले जानकारी दिए । मन्थलीस्थित सानीमदौमा कार्यक्रम आयोजना गरी वितरण गरिएको उक्त छात्रवृत्ति लिन आएका विद्यार्थीहरुलाई आउनजान गाडी र खाना, खाजाको व्यवस्थासमेत सुवेदी परिवारले नै गरेका छन् ।

छोरीहरुलाई शिक्षा क्षेत्रमा अगाडी बढाउने उद्देश्यले विसुद्ध आफ्नो परिवारको लगानीमा जेहनदार छात्रा शिक्षा हातेमालो कार्यक्रम मार्फत छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको सुवेदीले बताए ।
शिक्षामा लगानी गर्नु नै देशको दीगो विकासमा योगदान पुर्याउनु भएको सुवेदीको भनाइ छ । आर्थिक अभावले गर्दा पढाइमा निरन्तरता दिन नसक्ने अवस्थाका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो, सुवेदीले भने । “शिक्षा भनेको उज्यालो भविष्यको आधार हो, त्यही भएर हमीले सकेको सहयोग गर्दै आएका छौँ उनले भने ।
सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका शिक्षक चन्द्र सिंह धामीले सुवेदी परिवारको योगदान सराहनीय रहेको उल्लेख गर्दै यस किसिमका सहयोगले विद्यार्थीलाई मात्र नभई, सम्पूर्ण शैक्षिक वातावरणलाई हौसला मिलेको बताए । “पढ्न चाहने तर आर्थिक रूपमा कमजोर विद्यार्थीलाई यस्ता सहयोग जीवन परिवर्तन गर्ने अवसर सावित हुने उनको भनाइ छ ।

रामेछाप जिल्लाकै शैक्षिक हस्ती गुञ्जबहादुर श्रेष्ठले संसारमा महिलाहरु पनि ठुला/ठुला मान्छे बनेको उदाहरण दिंदै छात्राहरुलाई अध्ययनमा लगनशील भएर लाग्न अनुरोध गरे । योग ध्यानले मानिसलाई सत्मार्गमा लगाउने भन्दै अध्ययनसँगै योग ध्यान गर्न पनि श्रेष्ठले सहभागिहरुलाई सुझाए । उक्त कार्यक्रममा श्याम सुवेदीका भतिज युवराज सुवेदी तथा छोरी ज्वाइँहरुकोसमेत सहभागिता रहेको थियो । भतिज र छोरी ज्वाइँहरुले पनि सुवेदीको सामाजिक अभियानमा साथसहयोग र हातेमालो गर्दै आएका छन् ।
