Logo

मन्थलीमा पत्रकारका लागि एआईसम्बन्धी तीनदिने तालिम सुरु



रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा आजदेखि पत्रकारहरूका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ । डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाको आयोजना गरेको तालिममा जिल्लाका २७ जनाभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको नेपाल पत्रकार महासङ्घ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिए । बदलिँदो प्रविधि र सूचना प्रवाहको शैलीसँग पत्रकारहरूलाई अद्यावधिक गराउने तथा समाचार उत्पादनलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको उनले बताए ।


तालिममा पत्रकारितामा एआईको आधारभूत अवधारणा, समाचार सङ्कलन, लेखन, सम्पादन तथा तथ्य जाँचमा एआईको प्रयोग, साथै एआईमार्फत फोटो, भिडियो र भिजुअल सामग्री कसरी तयार गर्न सकिन्छ भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक दुवै किसिमका प्रशिक्षण दिइनेछ । साथै, एआई प्रयोग गर्दा पालना गर्नुपर्ने पत्रकारिता आचारसंहिता, नैतिक पक्ष, सम्भावना र चुनौतीबारे समेत विस्तृत छलफल गरिने आयोजकले जनाएको छ ।
तालिमको सहजीकरण गारखापत्र दैनिकका उपसम्पादक अजय शर्मा र अडियो भिडियो भिजुअल इन्डलेस सोलुसनका अध्यक्ष शिव पुरीले गरिरहेका छन् । तालिम सहजकर्ताहरुले पत्रकारहरूलाई आधुनिक पत्रकारितामा एआईको प्रयोग कसरी जिम्मेवार, सुरक्षित र सिर्जनात्मक रूपमा गर्न सकिन्छ भन्नेबारे उदाहरणसहित प्रशिक्षण दिनेछन् । तालिम अवधिभर सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत एआई प्रविधिको प्रयोग सिक्ने अवसर पाउने छन् ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाले पछिल्लो समय पत्रकारहरूको क्षमता विकासका लागि विभिन्न तालिम, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । उक्त तालिमले जिल्लाका पत्रकारहरूलाई नयाँ प्रविधिसँग परिचित गराउँदै डिजिटल युगमा प्रतिस्पर्धी बन्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । उक्त तालिम दिनसम्म सञ्चालन छ ।

प्रतिक्रिया दिनुहोस्