रामेछाप- मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सुशासन प्रवर्धनका लागि तथ्यमा आधारित पत्रकारिता अपरिहार्य रहेको बताएका छन् । प्रविधि र पत्रकारिताको विकास एक–अर्कासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले विगतका आन्दोलनहरूमा देखिएका र सुनिएका विषयवस्तुलाई आधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न पत्रकारहरूले ध्यान दिनुपर्ने बताए ।
बागमति प्रदेश सञ्चार रजिष्ट्रारको आयोजनामा नेपाल पत्रकार महासङ्घ रामेछापद्धारा आयोजना गरिएको तीन दिने पत्रकारहरुका लागि एआईसम्बन्धी तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नगरप्रमुख श्रेष्ठले जिल्लास्तरमा काम गर्ने पत्रकारहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कार्यसम्पादन गर्न सक्ने क्षमता राख्नुपर्ने बताए । सही तथ्य सार्वजनिक गर्न सकिएमा त्यसलाई कसैले अस्वीकार गर्न नसक्ने भन्दै उनले तथ्य र प्रमाणमा आधारित पत्रकारिताले सुशासन बलियो बनाउने विश्वास बताए ।
मन्थली नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको जानकारी दिँदै वडा स्तरबाटै अनलाइन प्रणालीमार्फत राजस्व संकलन तथा रिपोर्टिङजस्ता प्रविधिमैत्री अभ्यास सुरु गरिएको बताए ।
पत्रकारहरूसँगको सहकार्यका सन्दर्भमा उनले विगत दुई वर्षदेखि अपेक्षित सहयोग गर्न नसकिएको स्वीकार गर्दै आगामी दिनमा कानुनी प्रक्रिया मिलाएर संस्थागत सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए । नगरप्रमुख श्रेष्ठले राज्य सञ्चालनमा देखिने कमीकमजोरीका विरुद्ध पत्रकारहरूले निर्भिक रूपमा आवाज उठाउनुपर्ने पनि बताए । नगरपालिकाभित्र आफूले गल्ती गरे पनि कानुनी दायरामा आउन तयार हुनुपर्ने उल्लेख गर्दै उनले भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाहमा समानता ल्याउन युवाहरूले उठाएका सुशासनका मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयक प्रशिक्षण कार्यक्रममा देश विकासका लागि सबैभन्दा पहिला नागरिकको ब्रेनमा लगानी आवश्यक रहेको बताए । कुनै पनि देश ब्रेनमा लगानी नगरी समृद्ध हुन नसक्ने उनको भनाइ छ । उनले भने सिंगापुर, दक्षिण कोरिया, चीन र अमेरिकाको पहिले नै नागरिकको ब्रेनमा लगानी गरेको बताए ।
उनले पूर्वाधारसँगै नागरिकको बौद्धिक क्षमतामा लगानी गर्नुपर्नेमा जोड दिए । यही उद्देश्यअनुसार ज्ञान हस्तान्तरणका लागि एआईसम्बन्धी तालिम आयोजना गरिएको बताए । उनले एआईले पत्रकारको पेसा खोस्ने होइन, सहयोग गर्ने स्पष्ट पारे । इन्टरनेटमा उपलब्ध सूचना एआईले संकलन गर्न सक्ने भएपनि स्थानीय सतरका घटनाक्रम, तथ्य, फोटो र भिडियो सङ्कलन गर्ने काम पत्रकारकै जिम्मेवारी रहने बताए । सञ्चार कहिल्यै समाप्त नहुने प्रक्रिया भएकाले असल कम्युनिकेटर बने पत्रकारिता सङ्कटमा नपर्ने उनको भनाइ छ ।
एआईलाई मेसिनको रूपमा प्रयोग गर्न सक्नुपर्ने उल्लेख गर्दै राम्रो परिणामका लागि सही ‘प्रम्प्ट’ दिन सक्नुपर्ने बताए । भविष्यमा एआईभन्दा यन्न प्रविधि र आउने संकेत गर्दै साइबर संसारमा अपराध नियन्त्रण जटिल हुने भएकाले सचेत रहनुपर्ने आवश्यकता औँल्याए । उनले भने पत्रकारिता आज लोकल नभई ग्लोबल भइसकेको छ, पत्रकारको सानो गल्तीले पनि ठूलो प्रभाव पार्छ, विश्वसनीयता नै पत्रकारको सबैभन्दा ठूलो सम्पत्ति भएकाले तथ्य र सत्य खोज्न फिल्डमा जानै पर्छ ।
रामेछापको सदरमुकामा मन्थलीमा सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका २७ जनाभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो । तालिममा पत्रकारितामा एआईको आधारभूत अवधारणा, समाचार सङ्कलन, लेखन, सम्पादन तथा तथ्य जाँचमा एआईको प्रयोगका विषयमा सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारका अभ्यास गराइएको थियो । साथै एआई प्रयोग गरेर फोटो, भिडियो, अडियो तथा विभिन्न भिजुअल सामग्री कसरी तयार गर्न सकिन्छ भन्ने विषयमा पनि अभ्याससहित प्रशिक्षण दिइएको थियो । उक्त तालिमको सहजीकरण गोरखापत्र दैनिकका उपसम्पादक अजय शर्मा र अडियो–भिडियो भिजुअल इन्डलेस सोलुसनका अध्यक्ष शिव पुरीले गरेका थिए ।
